कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सरकारको निर्देशन
वि.सं.२०८३ वैशाख ९ बुधवार १३:०६
shares

काठमाडौं, ९ वैशाख । संघीय मामिला तथा प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरूलाई आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ।मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी सूचनामा सरकारद्वारा स्वीकृत शासकीय सुधारका कार्यसूचीअनुसार आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सबै कर्मचारीलाई आग्रह गरिएको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारका एक सय कार्यसूचीमध्ये निजामति प्रशासन सुधारलाई पनि प्राथमिकतामा राखिएको छ। उक्त कार्यसूचीमा विद्यमान भ्रष्टाचार, ढिलासुस्ती नियन्त्रण गर्दै प्रशासनलाई जनमुखी, पारदर्शी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिता अक्षरशः कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
यस्तै, कर्मचारीहरूले व्यवसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित हुनुपर्नेमा जोड दिइएको छ। सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य पनि कार्यसूचीमा समेटिएको छ।मन्त्रालयले निजामति सेवा ऐन तथा नियमावलीअनुसार कर्मचारीको आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न समेत निर्देशन दिएको छ।



















