Dhulikhel Eco Banner new

विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट अनिवार्य गर्न सरकारको निर्देशन

832
shares

काठमाडौं, ९ वैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ तथा साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरेको हो।

इन्धनको मूल्यवृद्धिपछि केही सवारीसाधनले भाडा छुट नदिएको गुनासो बढ्दै गएपछि विभागले यस्तो कदम चालेको जनाएको छ। ‘हेलो सरकार’ तथा गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरी दिएका थिए। विद्यार्थी परिचयपत्र देखाउँदा समेत छुट दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने घटनाहरू सार्वजनिक भएपछि विभागले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराएको हो।

विभागले २० फागुन २०६५ मा सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई स्मरण गराउँदै सोही व्यवस्था अनुसार छुट उपलब्ध गराउन निर्देशन दिएको छ। उक्त सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीमा ४५ प्रतिशतसम्म भाडा छुट पाउँदै आएका छन्।