गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
वि.सं.२०८३ वैशाख ९ बुधवार १४:४७
shares

काठमाडौं, ९ वैशाख । सुधन गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्ट सँग शेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न र सार्वजनिक टिप्पणीलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा पद त्याग गरेको घोषणा गरेका हुन्।
मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी गराउँदै आजकै मितिदेखि लागू हुने बताएका छन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी आन्दोलन’ ले सार्वजनिक जीवनमा शुद्धता आवश्यक रहेको सन्देश दिएको बताएका छन्। साथै, सरकारमाथि उठेका प्रश्नहरूको जवाफ नैतिकताबाट दिनुपर्ने उनको भनाइ छ।
गुरुङले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।
राजीनामा घोषणाका क्रममा उनले केही सञ्चारकर्मीमाथि पनि नैतिकताको प्रश्न उठाउँदै विभिन्न क्षेत्रमा ‘स्वीट सेयर’ रहेको विषय समयसँगै सार्वजनिक हुने टिप्पणी गरेका छन्।
अन्त्यमा उनले आम नेपाली, विशेषगरी युवाहरूलाई सम्बोधन गर्दै वास्तविक परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन अपिल गरेका छन्।



















