वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अतिरिक्त कागजात नचाहिने
वि.सं.२०८२ चैत २९ आइतवार ०९:५०
shares

काठमाडौं, २९ चैत । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा अतिरिक्त बिल वा रसिदहरू पेश गर्न नपर्ने भएको छ। केही दिनयता सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनाका कारण उत्पन्न अन्यौलता अन्त्य गर्न अध्यागमन विभागले स्पष्ट पारेको हो।
आइतबार सार्वजनिक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति र राहदानी ९पासपोर्ट० जस्ता आधारभूत कागजात मात्र देखाए पुग्ने जनाएको छ। पछिल्लो समय विमानस्थलमा बिल र रसिदसमेत अनिवार्य गरिएको भन्ने हल्ला फैलिएपछि यात्रुहरूमा अन्यौलता बढ्नुका साथै अनावश्यक भिडभाड समेत देखिएको थियो।
विभागका अनुसार प्रचलित कानुन र मन्त्रिस्तरीय निर्णयअनुसार श्रमिकहरूलाई प्रस्थान अनुमति दिँदा कुनै अतिरिक्त झन्झट नदिइनेछ। यस कदमले यात्रुहरूको समय बचत हुनुका साथै विमानस्थल व्यवस्थापनमा पनि सहजता आउने अपेक्षा गरिएको छ।
यसैगरी, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि पनि प्रक्रिया सरलीकृत गरिएको छ। अब कम्तीमा ६ महिनाको वैध राहदानी, गन्तव्य देशको भिसा र दुईतर्फी हवाई टिकट भएका यात्रुहरूले स्वघोषणा फारम भरेर सहज रूपमा यात्रा गर्न सक्नेछन्। यसअघि आवश्यकभन्दा बढी कागजात जुटाउनुपर्ने बाध्यतालाई गृह मन्त्रालयको निर्णयले हटाएको हो।
अध्यागमन विभागले सबै नागरिकलाई कुनै पनि भ्रममा नपर्न, आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा गन्तव्य मुलुकका नियम र अवस्थाबारे जानकारी लिएर सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ। यात्रुहरूलाई अनावश्यक सास्तीबाट जोगाउन र सेवा प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।



















