युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद वैशाख १६
वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१७
shares

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने समयसीमा तोकेको छ। कम्पनीले सार्वजनिक सूचनामार्फत हाल निष्काशन भइरहेको हकप्रद शेयरमा लगानीकर्ताले आगामी वैशाख १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्ने जनाएको हो।
कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ता (१००:१०) को अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसका लागि २०८२ फागुन १७ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूलाई योग्य मानिएको छ। कम्पनीले चैत २६ गतेदेखि उक्त हकप्रद शेयर बिक्री खुला गरेको हो।
हकप्रदमार्फत कम्पनीले २३ लाख १० हजार कित्ता सेयर बजारमा ल्याएको छ। पूँजी आधार सुदृढ गर्दै बीमा व्यवसाय विस्तार गर्ने लक्ष्यसहित हकप्रद शेयर निष्काशन गरिएको कम्पनीको भनाइ छ। बीमा क्षेत्रमा पछिल्लो समय पूँजी वृद्धिको दबाब बढिरहेका बेला यस्ता निष्काशनलाई रणनीतिक कदमका रूपमा लिइएको छ।
लगानीकर्तालाई तोकिएको समयभित्रै आवेदन दिन कम्पनीले आग्रह गरेको छ। निर्धारित म्यादपछि आवेदन स्वीकार नहुने भएकाले समयमै प्रक्रिया पूरा गर्न कम्पनीले सचेत गराएको छ। थप विवरणका लागि कम्पनीको आधिकारिक वेबसाइट वा निष्काशन तथा बिक्री प्रबन्धक एलएस क्यापिटल को वेबसाइटमार्फत जानकारी लिन सकिने उल्लेख गरिएको छ।



















