राष्ट्र बैंकले १० अर्ब रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
वि.सं.२०८३ वैशाख ७ सोमवार १५:४५
shares

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा कुल १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा कोषमा रहेको उक्त रकम सुरक्षित रूपमा मुद्दति निक्षेपका रूपमा परिचालन गर्न लागिएको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वैशाख ९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार कुल लगानीमध्ये ८ अर्ब रुपैयाँ वाणिज्य बैंकमा, १ अर्ब ५० करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ५० करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा राखिनेछ।
यो निक्षेप ३६६ दिन अवधिका लागि रहनेछ, जुन सन् २०२६ अप्रिल २८ देखि २०२७ अप्रिल २८ सम्म लागू हुनेछ।
केन्द्रीय बैंकले यस लगानीमार्फत वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई सुदृढ बनाउने तथा सुरक्षित प्रतिफल सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।



















