स्याकार ट्रेडिङद्वारा देशभर स्तरीय होण्डा सेवा केन्द्र विस्तार सुरु
वि.सं.२०८३ वैशाख १४ सोमवार १०:४१
shares

काठमाडौं, १४ वैशाख। स्याकार ट्रेडिङ कम्पनी (पद्म ज्योति समूहअन्तर्गत) ले नेपालभर होण्डा मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताहरूका लागि स्तरीय सेवा विस्तार गर्ने अभियान सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा देशका विभिन्न स्थानमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।
यसै क्रममा त्रिपुरेश्वरस्थित सेवा केन्द्र (टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा होण्डा मोटर कम्पनी लिमिटेडका उपाध्यक्ष तोसिओ कुवाहारा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको पनि उपस्थिति रहेको थियो।
कम्पनीले “पहिलेकै मूल्यमा स्तरीय सेवा” अवधारणा अघि सार्दै ग्राहकलाई थप शुल्क बिना उच्चस्तरको सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। यसका साथै सेवा प्रक्रियालाई अझ छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाइएको जानकारी दिएको छ।
नयाँ सेवा केन्द्रहरूमा दक्ष तथा तालिमप्राप्त प्राविधिकहरूद्वारा सेवा प्रदान गरिनेछ। सवारी साधन बिक्री कक्ष, मर्मत सेवा तथा मौलिक पुर्जा एकै स्थानमा उपलब्ध हुने व्यवस्था गरिएको छ। साथै सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क चिसो पेय तथा कफीको व्यवस्था र आरामदायी प्रतीक्षा कक्षको सुविधा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार नयाँ सेवा केन्द्रहरूमा अत्याधुनिक जाँच उपकरण, डिजिटल सेवा अनुगमन प्रणाली तथा छिटो सेवा प्रदान गर्ने विशेष कक्षमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ। साथै मौलिक पुर्जाहरूको सहज उपलब्धता सुनिश्चित गरिनेछ।
स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभरका होण्डा प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ र आगामी दिनहरूमा थप सेवा केन्द्र विस्तार गर्दै सेवा पहुँच अझ सुदृढ बनाइने उल्लेख गरेको छ।
















