Dhulikhel Eco Banner new

१४ करोड घाटा भएपछि ‘ले हिमालय’बाट आइएमईले हात झिक्यो

1.04K
shares

काठमाडौं, ४ भदौ । सञ्चालनमा आएको केही वर्षमै लाजिम्पाटमा रहेको ले हिमालयबाट आइएमई समूहले हात झिकेको छ । ३ वर्ष पनि नपुग्दै १४ करोड घाटामा देखिएपछि आईएमई समूहले होटल व्यवस्थापन नै छाडेको हो ।

लाजिम्पाटमा रहेको उक्त होटल सुरुमा अभिषेक शाहलाई प्रमुख व्यवस्थापक बनाएर आइएमई समूहले सञ्चालन गरिरहेको थियो । चन्द्रागिरीलाई चर्चामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका अभिषेकले आईएमई समूहको जागिर छाडेर अहिले आफ्नै व्यवसायमा लागेका छन् ।

पछिल्लो समय सबै कर्मचारीको भरमा छाड्दा होटल घाटामा पुगेको समूहको निष्कर्ष छ । काठमाडौंको होटल छाडे पनि चन्द्रागिरी, मौलाकालिका लगायतका प्रोजेक्टमा भने समूहले राम्रै गरिरहेको छ । आइएमईले छाडेपछि व्यवसायी भीम रोकाले नै होटल जिम्मा लिएका छन् । उक्त प्रोपर्टी भीम रोकाकै नाममा रहेको छ । आइएमईले १० वर्षका लागि लिजमा लिएको भए पनि आधा समय नपुग्दै लिज फिर्ता गरेको हो ।

समूहले ले हिमालयको टपमा भने आकर्षक बार बनाएको छ । होटल छाडेपछि उक्त बार भने समूहकै स्वामित्वमा रहने बताइएको छ ।