Dhulikhel Eco Banner new

लघुवित्तको नाफामा उछाल : कर्जा असुलीले होइन, ‘प्रोभिजनिङ’ र ब्याजदर घट्दा १२ अर्ब नाघ्यो

खुद नाफा कमाउनेमा छिमेक लघुवित्त अग्रस्थानमा

1.27K
shares
गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफामा लोभलाग्दो वृद्धि देखिएको छ । अघिल्लो वर्ष करिब साढे ८ अर्ब रुपैयाँ खुद नाफामा सीमित भएका ५० वटा लघुवित्त संस्थाहरुले यसपटक ४० प्रतिशतभन्दा बढीको छलाङ मार्दै १२ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । यद्यपि, यो उत्साहजनक वित्तीय विवरणको पछाडि ऋणीबाट कर्जा असुलीमा भएको सुधार वा आक्रामक व्यापार विस्तार नभई ‘कर्जा जोखिम बीमा’ र ‘घट्दो ब्याजदर’ मुख्य कारण रहेको पाइएको छ ।
बैंकिङ जानकारहरुका अनुसार पछिल्लो समय लघुवित्त संस्थाहरुले निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत कर्जाको बीमा गराउने क्रम बढेको छ । बीमा गरिएको यस्तो कर्जामा नेपाल राष्ट्र बैंकले ‘कर्जा नोक्सानी व्यवस्था’ (प्रोभिजनिङ) बापत राख्नुपर्ने रकममा ठूलो छुट दिएको छ । एक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार ऋणीबाट पैसा उठेर नाफा बढेको नभई, प्रोभिजनमा पैसा कम राख्न पाइने सुविधाले गर्दा वासलातमा नाफा उच्च देखिएको हो । तर, भविष्यमा बीमा दाबी गर्दा आवश्यक कागजात नपुगेको वा कर्जा पुनर्संरचना भएको जस्ता प्राविधिक कारण देखाउँदै रकम अस्वीकृत हुने र पछि गएर फेरि प्रोभिजन गर्नुपर्ने जोखिम उच्च रहेको ती सीईओको भनाइ छ । राष्ट्र बैंकले समेत यसरी दिइएको सुविधा र वास्तविक दाबीको अवस्थाबारे सुक्ष्म अध्ययन थालेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा कमाउनेमा छिमेक लघुवित्त अग्रस्थानमा छ, जसले १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी, जीवन विकास लघुवित्तले १ अर्ब ८ करोड २२ लाख, डिप्रोक्सले ९८ करोड ९४ लाख, नेशनल माइक्रोफाइनान्सले ८९ करोड १३ लाख र साना किसान विकास लघुवित्तले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। समीक्षा अवधिसम्म ५० वटै लघुवित्तहरुको कुल कर्जा लगानी ५ खर्ब ६२ अर्ब र निक्षेप संकलन २ खर्ब ३१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।