सूर्या लाइफको बीमा शुल्क आम्दानी १९ प्रतिशतले बढ्यो, खुद नाफामा भारी गिरावट
वि.सं.२०७९ साउन २९ आइतवार १२:२९
shares

काठमाडौं, २९ साउन । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५ अर्ब ५ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षकोभन्दा १९.३८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
बीमाशुल्कमा उल्लेख्य सुधार गर्दै इन्स्योरेन्सले समिक्षा अवधिसम्ममा जीवन बीमा कोषमा १ खर्ब ४० अर्ब ९ करोड रुपैयाँ संचित गर्न सफल भएको छ । जुन यो अघिल्लो आवको तुलनामा ३२.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा इन्स्योरेन्सले जीवन बीमा कोषमा १ खर्ब ५ अर्ब ५१ करोड रुपैयाँ मात्रै संचित गरेको थियो । जीवन बीमा कोषको आकार बढाउँदा यता जगेडा कोषको आकार भने सामान्य घट्न पुगेको छ ।
असार मसान्तसम्म सूर्या लाइफको जगेडा कोषको आकार १०.१२ प्रतिशतले घटेर ६६ करोड ५६ लाख २ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा इन्स्योरेन्सको जगेडा कोषमा ७४ करोड ५ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्म सूर्या लाइफको व्यवस्थापन खर्च भने बढ्न पुगेको छ । यसकारण कम्पनीको नाफा प्रभावित बनेको छ ।
व्यवस्थापन खर्च असार मसान्तसम्म ७६.५१ प्रतिशतले बढेर ७८ करोड ८ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च बढेसँगै यस अवधिसम्म कम्पनीको खुद नाफा ३२.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले २० करोड माथि खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १८.६८ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी समेत ३८.१८ प्रतिशतले बृद्धि भई १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । साथै असार मसान्तसम्म सूर्या लाइफको अभिकर्ता कमिशन ६१ करोड ७५ लाख ३४ हजार रुपैयाँ पुगेको छ साथै सो अवधिसम्म कम्पनीको कायम पोलिसी संख्या अर्थात बीमालेख संख्या ४ लाख ४८ हजार ३६ रहेको छ ।


















