ई–सिम वितरण गर्दै टेलिकम, भौतिक सिमलाई निःशुल्क ई–सिममा रुपान्तरण गरिने
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०८:१०
shares

काठमाडौं, ३१ भदौ । नेपाल टेलिकमले शुक्रबार (आज) देखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ ।
नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै यो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।
मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा लगाउन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।


















