Dhulikhel Eco Banner new

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

3.98K
shares

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधिअनुसार शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्ने र यसले हाम्रो संविधानलाई चलायमान बनाउनाका साथै जीवन्तता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

निर्वाचन गराउने कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको समृद्धि, सम्पन्नता र आत्मसम्मान अभिवृद्धि नै आफूहरुको एकमात्र अभिष्ट भएको स्पष्ट पारे ।

“संविधान दिवसका अवसरमा उक्त लक्ष्य पूरा गर्न कुनै पूर्वाग्रह र दुराग्रह नराखी देश र जनताको हितलाई सर्वाेपरी ठान्दै विकास र सम्मुन्नतिको महायज्ञमा जुट्न म सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, निजी क्षेत्रलगायत सबैमा आह्वान गर्दछु”, उनले भने, “अबको हाम्रो गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार नै हो ।”

प्रधानमन्त्री देउवाले जनताको जीवनस्तरमा सुधार ल्याई मुलुकको स्वाधीनता र स्वाभिमानलाई संरक्षण र संवद्र्धन गर्न तथा समृद्धिको सपनालाई चाँडो पूरा गर्ने गरी काम गर्न जरुरी रहेको भनाइ व्यक्त गरे ।

लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताकै लागि उनीहरुको इच्छाबमोजिम गरिने शासन हो भन्दै उहाँले लोकतन्त्रमा सम्पूर्ण निर्णायक शक्ति सार्वभौम जनतामै रहने हुनाले राज्यका सबै तहका संरचनामा देशका सबै वर्ग तथा समुदायको समान पहुँच र सहभागिता सुनिश्चित हुने स्पष्ट गरे ।

प्रधानमन्त्री देउवाले भने, “लोकतन्त्रमा सबै जनता संविधान र कानुनले सुनिश्चित गरेको हकअधिकार समानरुपमा उपभोग गर्न सक्ने हैसियतमा हुनुपर्छ । शासन प्रणालीमा सबै जनता अटाउने र राज्यका अवसरहरुमा सबैले समान हिस्सा पाउने व्यवस्था यसको आधारभूत चरित्र हुनुपर्छ । कसैलाई पनि नछोड्ने सबैलाई सँगसँगै लिएर अघि बढ्ने विशेषता यसको हुनुपर्छ ।”

संविधानको कार्यान्वयनले गति लिएको र मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्दै देश र जनताको आकाङ्क्षा परिपूर्ति गर्ने दिशामा सरकार अग्रसर रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै यस प्रणालीलाई संस्थागत गर्न हाम्रा सोच, काम गराई, प्रवृत्ति र कार्यशैलीमा पनि आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए  ।

संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद् र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको बताए ।