Dhulikhel Eco Banner new

निर्यात अनुदान पाउनेमा अम्लिसो पनि थपियो, उद्योगी उत्साहित

6.94K
shares

काठमाडौं, २८ असोज । सरकारले दिने निर्यात अनुदानका लागि थप ९ वस्तु सूचीकृत भएका छन् । सरकारले निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ लाई संशोधान गर्दै ९ वस्तुलाई अनुदान पाउने सूचीमा सूचीकृत गरेको हो ।

संशोधन गरिएको कार्यविधि अनुसार पाँच प्रतिशत अनुदान पाउने तीन वस्तु, चार प्रतिशत अनुदान पाउनेमा ६ वटा वस्तु सूचीकृत भएका हुन् । यो सँगै ४ प्रतिशत र ५ प्रतिशत अनुदान पाउने वस्तुको संख्या १८–१८ पुगेको छ । पाँच प्रतिशत अनुदान प्राप्त गर्नेमा अम्लिसो (अम्रिसो), दुग्ध जन्य पदार्थ र फदफुल रहेका छन् । त्यस्तै क्लिङकर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड निर्यात गर्दा ४ प्रतिशत नगद अनुदान प्राप्त हुने भएको छ ।

संशोधित कार्याविधि अनुसार शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनको कुल निर्यात मूल्यमा ५ प्रतिशत नगद अनुदान उपलब्ध हुन्छ । चार प्रतिशत नगद अनुदान पाउनका लागि उत्पादित वस्तुको मूल्य अभिवृद्धि ३० प्रतिशतसम्म भएको हुनु पर्ने व्यवस्था रहेको छ ।

त्यसैगरी सरकारले संशोधन गरेको कार्याविधि अनुसार ५० करोड भन्दा माथिको बस्तु तथा सेवाको निर्यात गर्दा अधिकतम ८ प्रतिशत नगद अनुदान उपलब्ध हुनेछ ।

सरकारले मौलिक उत्पादनलाई नगद अनुदान दिएको भए पनि अम्लिसोलाई नदिएको अवस्थामा लगातारको पहल पछि नगद अनुदान पाउन सफल भएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले बताए । ‘कुचो संघ स्थापन भएदेखिनै नगद अनुदानको विषयमा आवाज उठाएको र अहिले सरकारले यो कुरालाई सम्बोधन गरेको छ, यसका लागि सरकारलाई धन्यबाद भन्नु पर्छ,’ अध्यक्ष कार्कीले भने ।

नगद अनुदानको व्यवस्थाले कुचो उद्योगीलाई राहत हुने र यसतर्फ आकर्षण बढ्ने अध्यक्ष कार्कीको विश्वास छ । गुणस्तरीय कुचो निर्माण तथा पेशामा लाग्न समेत प्रोत्साहान मिल्ने अध्यक्ष कार्कीको भनाइ छ । यो पेशामा लागेकाहरुमा थप उत्साह थपिएको अध्यक्ष कार्कीले बताए ।