नगद अनुदान पाउनका लागि ३० प्रतिशत भ्यालु एडिसन हुनु पर्ने
वि.सं.२०७९ असोज २९ शनिवार १२:३६
shares

काठमाडौं, २९ असोज । निर्यातमा अनुदान प्राप्त गर्न कम्तिमा पनि ३० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एडिसन) भएको हुनुपर्ने भएको छ । सरकारले केही दिन अघि पारित गरेको निर्यातमा अनुदान सम्बन्धी कार्यविधि, २०७९ मा यस्तो व्यवस्था गरिएको हो ।
कार्यविधि अनुसार ४ प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मुल्य वृद्धि गरेको हुनुपर्नेछ । यदि मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने त्यस्तो वस्तुले ५ प्रतिशत अनुदान प्राप्त प्राप्त गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधि अनुसार न्युनतम अनुदान ४ प्रतिशत तोकिएको छ । अनुदान पाउन कार्यविधिले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ ।
वस्तुमा ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाइने व्यवस्था छ भने राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त व्यवस्था गरिएको छ । यस्तै गत आर्थिक वर्षभन्दा २० प्रतिशत बढी निर्यात गरेको छ भने अनुदानका लागि थप योग्य कार्यविधिमा व्यवस्था गरिएको छ ।
त्यसैगरी कुनै कम्पनीले ५० करोडभन्दा बढीको निर्यात गर्छ भने ५० करोड पछिको निर्यातमा सिधै ८ प्रतिशत अनुदान प्राप्त गर्ने व्यवस्था रहेको छ । अनुदान सहज रुपमा लिनका लागि आवेदन अनलाइनबाटै दिन सकिने व्यावस्था कार्यविधिले गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको ब्यवस्था अनुसार सरकारले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धि (दोस्रो संशोधन) कार्यविधि २०७९’ मन्त्तिपरिषद्बाट पारित गरेर नगद अनुदान अधिकतम ८ प्रतिशत दिने निर्णय गरेको हो ।
















