Dhulikhel Eco Banner new

उदयपुरका किसान भन्छन– अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

8.68K
shares

काठमाडौं, १६ माघ । उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् ।

जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन्

“यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन”, उनले भने ।

कटारी–९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो रू ५० देखि ६० भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउछन् ।

जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो ।

मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो रू ४० देखि ५० सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

त्रियुगा नगरपालिका–१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, “जिल्लाका अदुवा खरिदकर्ताले नै सुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ ।” उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरुले बिक्री गर्दै आएका छन् ।

जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने गरेको जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ ।

कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने, “अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।”

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् ।

उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउछन् ।

उहाँका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ ।

जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो रू ८० देखि एक सय बताउँदै आएका छन् ।