स्कटल्याण्डसँगको खेल जित्न २१३ रनको लक्ष्य पछ्याउँदै नेपाल
वि.सं.२०७९ फागुन ९ मंगलवार १२:४७
shares
फाइल फाेटाे
काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाए पछि नेपालले २१३ रनको लक्ष्य पाएको हो ।
पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै म्याथ्यु क्रसले ४२ रन बनाउँदा ब्राण्डन म्याकमुलनले ३१ रन बनाए । क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए । पाहुना टोलिलाई कम रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ विकेट लिदा कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।
यो खेलमा ३ विकेट लिएसँगै नेपाली बलर करण केसीले एक दिवसिय अन्तराष्ट्रियमा ५० विकेट पनि पुरा गरेका छन् । एक दिवसिए क्रिकेटमा ५० विकेट लिने उनी नेपालका तेस्रो बलर हुन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरिसकेका छन् ।
पछिल्लो समय निकै लयमा देखिएको नेपाली टोली स्कटल्याण्डलाई पनि पराजित गरेर लगातार चौथो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
विश्वकप लिग दुईको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा रहेको छ । स्कटल्याण्डको यो प्रतियोगितामा अन्तिम खेल हो ।

















