Dhulikhel Eco Banner new

फिल्म ‘कौसीद’ले हरेक नेपालीको जीवन भोगाईको कथा बोल्छः निर्देशक कुमार भास्कर

11.27K
shares

काठमाडौं, १८ असोज । पछिल्लो समय नेपालमा खुला मनोरञ्जनमात्र नभएर आयातन बोकेका कथामा फिल्म बन्ने क्रमले तिब्रता पाइरहेको छ । नेपाली समाजको माटो बोल्ने, समुदायका हरेक मानिसहरूको वास्तविकता बोल्ने विषयवस्तुले नेपाली फिल्ममा ठुलो हिस्सा लिँदै आएका छन् ।

पछिल्लोपटक नेपालमा सर्वाधिक चर्चामा रहेका दुई विषय बने मिटरब्याज पीडीतहरूको आन्दोलन र विधालय शिक्षकहरूको आन्दोलन । दुबै विषय नेपाली समाजको ग्राउण्ड जिरोसँग सम्बन्धित थिए । सरकारबाट आफ्ना समस्या सुनुवाई नहुँदा होस् या गरिबीको चपेटामा परेकाहरूलाई छलाएर तथाकथित माथिल्लो स्तर देखाउनेहरूले रकम ब्याजमा लगाएर घरबार नै उठाएको अवस्थामा, पीडीत पक्षले सडक ततायो सरकार सुनुवाईको लागि तयार भयो ।

माथि उल्लेखित प्रसङ्ग यहि असोज २६ बाट दर्शकमाझ आउन लागेको फिल्म ‘कौसीद’सँग सिधा सम्बन्धित छन् । दुई बर्ष पहिले नै निर्माण सम्पन्न भएर हाल रिलिजको लागि तयार भएको यो फिल्मले तत्कालिन समयमा नै यो विषय उठान गरेको थियो । निर्देशक कुमार भास्कर आफ्नो फिल्मले हरेक नेपालीको आफ्नै जीवन भोगाईको कथा बोल्ने बताउँछन् ।

बैङ्कको ब्याज तिर्न नसकेर छटपटिएको एक शिक्षकको कथालाई फिल्मले उठाएको छ । भास्कर भन्छन्, युवा हुनै पर्ने, चकलेटी हुनैपर्ने, हिरोइनसँग लभ पर्नेपर्ने नेपाली फिल्मको पुरानो ट्रेण्ड छोडेर ४५ बर्षको पात्र पनि फिल्मको प्रमुख पात्र हुनसक्छ, दैनिक संघर्ष गरेरै पनि परिवार धान्न बाध्य पात्रले पनि फिल्मलाई लिड गर्नसक्छ भनेर भोलाराज सापकोटा र उनको अपोजिटमा प्रफेक्ट म्याचिङमा अभिनेत्री ऋचा शर्मालाई लिएका हौँ ।

त्यसो त अघिल्लो बर्ष नै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक हुँदा यो फिल्मले मिडिया र सोसियल मिडियामा चर्चा कमाएको थियो । यसअघि सार्वजनिक ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । रिलिजको मिति नजिकिँदै गर्दा प्रचार प्रसारमा भेटिएका भास्करले आफ्नो फिल्म एकपटक हेर्दा नेपाली समाजको यथार्थता आँखामा झल्किने बताए ।

फिल्मले दर्शकलाई आफुसँग, आफ्नो परिवारसँग र समाजको घटनासँग जति रिलेट गर्छ त्यति नै दर्शकलाई आत्मिय लाग्छ, उनि भन्छन्, सोहि अनुसार यो फिल्मले पनि समाजका हरेक सामान्य वर्गीय परिवारको आफ्नै कथा रहेको महशुष गराउँछु, निर्देशक बताउँछन् ।

पछिल्लो समय नेपालमा चलिरहेको मूभमेन्ट आफ्नो फिल्मले उठाएकै विषयवस्तु रहेको भास्करले बताए । समाजमा धेरै समस्याहरू कोहि बोल्न नसकेर लुकेका छन्, कोहि बोल्न खोज्दा पनि सुनिदिने निकायले नसुनेर दबिएका छन्, तिनी र त्यस्तै कथाको नेपाली समाजको जीवन्तता बोल्ने फिल्म नै ‘कौसीद हो भास्कर गुञ्जिए ।