‘सिंगै पसल सेलमा, होलसेल मुल्यमै पाइन्छ सबथोक’
वि.सं.२०८० असोज २३ मंगलवार १७:०१
shares

काठमाडौं, २३ असोज । खिचापोखरी स्थित पिपल्स प्लाजामा रहेको मिष्टर सपका सञ्चालक युवराज चापागाईले व्यापार व्यवसाय सुरु गरेको ३० वर्ष हुन लाग्यो । व्यापार सुरु गरेपछि पहिलो पटक यस किसिमको आर्थिक संकटको सामना गरेको अनुभव गरेका चापागाई पिपल्स प्लाजा व्यापार संघका अध्यक्ष पनि हुन् ।
नेपालीहरुको ठूलो चाड दशैंको अवसरमा उनले पसलमा भएका सबै सामान सेलमा राखेका छन् । रञ्जना गल्लिमा होलसेल पसल समेत सञ्चालन गरेका चापागाई ग्राहकको हित र स्कट क्लियरका लागि सिंगै पसल सेलमा राखेको बताउँछन् ।
‘अन्य पसलहरुमा सेल भनेर थोरै सामान राखिएको हुन्छ । आफुलाई मन परेको कलर र साइज पाइदै पाइदैन । हाम्रोमा त्यो समस्या छैन ।’ सेलले ग्राहकलाई पनि सजिलो बनाएको कुरा गरे ।
चाडबाडको समयमा ‘फेष्टिभ मुड’ हुने भए पनि आम सर्वसाधारणको गोजी रित्तो भएको अनुभव गरेका चापागाई ग्राहकलाई राहत दिनकै लागि सेल लगाएको दावी गर्छन् । ‘व्यापारमा कहिले काँही घाटा पनि फाइदा हो भन्ने सिद्धान्त अनुरुप हामीले काम गरिरहेका छौं ।’ व्यापारमा फरक सिद्धान्त अपनाएको कुरा गरे ।
उनको दावीलाई मान्ने हो भने मिष्टर सपमा कतिपय सामान होलसेल रेट भन्दा पनि सस्तोमा पाइन्छ । उनी भन्छन् ‘हामीसंग स्टक धेरै भयो त्यहि कारण हामीले होलसेलमा किनेको रेटमा पनि घटाएर दिएका छौं ।’
टिसर्टदेखी ज्याकेटसम्म
मिष्टर सपमा अहिले टिसर्टदेखी ज्याकेटसम्म पाइन्छ । उनले भने जस्तै पसलमा छिरेका ग्राहकहरु रित्तो हात फर्किएका छैनन् । यसो हुनुको जस उनी आफ्नै पसलको ब्राण्डेड सामानलाई दिन्छन् ‘हामी कहाँ नेपाली गार्मेन्टमा बनेका कुनै पनि सामान छैन । सबै विदेशबाट आयातित ब्राण्डेड सामान छन् ।’ ग्राहक दोहोरिएर आउनुको कारण बताए ।
जन्ति मलामी नहोलान् कि भन्ने चिन्ता
खासमा यो सिजनमा हरेक पसलहरुमा ग्राहकहरु ठेलम ठेल हुनु पर्ने हो तर, न्युरोड क्षेत्रमा त्यस्तो देखिँदैन । युवा पुस्ता विदेश पलायन भएकाले यो समस्या आएको उनको बुझाई छ । ‘देशै खाली हुन लागिसक्यो जन्ति मलामी नै नहोलान् कि भन्ने बेलामा ग्राहक आएनन् भनेर के चिन्ता गर्नु ?’ देशमा बस्ने वातावरण नभएकाले युवा पुस्ता पलायन भएको कुरा गरे ।
तीन दशकदेखि यहि व्यवसायमा संलग्न चापागाईले आफैं थाकेको कुरा गरे । ३१ जनालाई रोजगार दिएका यी चापागाई भन्छन् ‘अब यो देशमा व्यापार गरेर खान सकिँदैन । विदेश पलायन हुने विषयमा सोच्दै छु ।’ विशेष सेल लगाउनुको अर्को कारण भने ।
व्यवसायीको मर्का कसैले बुझेन
यो स्थिती आउनुको कारण नेतृत्वमा दृष्टिकोणको अभाव हो भन्ने लागेको छ उनलाई । ‘प्रमुख दलहरु सत्ता टिकाउने र गिराउने खेलमा सिमित छन् । हाम्रो बारेमा सोच्ने कोही छैन ।’ सरकारी तवरबाट व्यवसायीको हितमा कुनै काम नभएको टिप्पणी गरे ।
व्यवसायीलाई राहत दिन प¥यो भन्दै चापागाई व्यवसायको टोली नै लिएर मन्त्रालय र विभाग नधाएका होइनन् । हिँड्दा हिँड्दै थाकेका चापगाई भन्छन् ‘जति धाए पनि केही हुनेवाला छैन । विभाग वा मन्त्रालय गयो डीजीहरुसंग बसेर चिया खायो चिनाजानी गरेर फर्कियो सकियो ।’ सरोकारवाला निकायले व्यवसायीको मर्का नबुझेको कुरा गरे ।
निलो कोट र सेतो सर्ट देख्ने बित्तिकै भाग्नु पर्ने अवस्था
एकातिर व्यापार नभएर व्यवसायी तनाबमा छन् । अर्कोतीर अण्डर भ्यालुएसनको समस्याले व्यवसायी हैरान भएको उनको भनाई छ । ‘हाम्रो सरकारको निती नै यति झुर छ अण्डर भ्यालुएसनले सरकारी कर्मचारी देख्ने बित्तिकै सटर बन्द गरेर भाग्नु पर्ने अवस्था छ ।’ टिकटकबाट सामान बिक्री गर्नेहरुले पनि बजार बिगारेको अनुभव गरेका छन् उनले । टिकटकबाट सामान ब्राण्डिङ गर्नेहरुले मुल्य समेत राखेकोमा आपत्ति जनाउदै भन्छन् ‘टिकटकमा राखेको मुल्य अनुसार ट्याक्स तिरेका छन् कि छैनन् । त्यो पनि हेरिनुपर्छ ।’



















