चित्त दुखाएका बैंकर्सलाई गभर्नरले भने– ‘अनुसन्धानमा सहयोग गरौँ’
वि.सं.२०८० फागुन १६ बुधवार १८:१९
shares

काठमाडौं, १६ फागुन । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गर्यो । पक्राउ गरेको विषयलाई लिएर नेपाल बैंकर्स संघ देखि विभिन्न बैंकका कर्मचारीले समेत न्यौपाने सहितको बचाउमा लागे ।
बुधबार नेपाल बैंकर्स संघको आकस्मीक बैठक बसेर आफ्नो माग पुरा नभए बैंकिङ काम नै ठप्प पार्ने निर्णय समेत गरे । पहिलो चरणमा उनीहरुले नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर बैंकर्स पक्राउ परेको भन्दै दुख व्यक्ति गर्ने पुगे ।
संघले बोलाएको बैठकमा वाणिज्य बैंकका अधिकांस सिइओहरु आएको भएपनि राष्ट्र बैंकसम्म भने संघका अध्यक्ष सुनिल केसी, प्रभु बैंकका सिईओ अशोक शेरचन र हिमालयन बैंकका सिइओ अशोक शमशेर राणा मात्र पुगेका थिए ।
राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारीसहित ३ जना र बैंकर्स संघका अध्यक्ष केसी, शेरचन र राणा गरि ६ जनाबीच छलफल भएको त्यहा उपस्थित एकले केटिएम भ्वाईसलाई जानकारी दिए । ति व्यक्तिका अनुसार संघका तर्फबाट गएका व्यक्तिले गभर्नर अधिकारीलाई सहयोग मागेका थिए ।
तर, गभर्नरले भने अनुसन्धानमा सहयोग गरौँ भनेर भनेको स्रोतको भनाई छ । ‘संघले कर्मचारी पक्राउको विषयमा सहयोग मागेको थियो’, छलफलमा उपस्थित एकले केटिएम भ्वाइससँग भने, ‘गभर्नर ज्यूले अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।’
प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने सहित ११ जना पक्राउ परेको विषयलाई सहज रुपले लिनुपर्ने गभर्नर अधिकारीको भनाई रहेको स्रोतको भनाई छ । ‘गभर्नर ज्यूले पक्राउको विषयलाई सामान्य तरिकाले लिनु भयो’, स्रोतले केटिएम भ्वाईसलाई भन्यो, ‘पक्राउ परेको विषयलाई सहज तरिकाले लिनुपर्ने संघलाई गभर्नर ज्यूले जवाफ दिनु भएको थियो ।’



















