Dhulikhel Eco Banner new

‘अध्ययन बिना बीमा कम्पनी धेरै भए भन्न मिल्दैन’

7.77K
shares

काठमाडौं, ३० जेठ । बीमा समितिले पछिल्लो समय बीमा कम्पनीको संख्या घटाउने र बढी लाभांश दिने भन्दै मर्जरमा जानका लागि आग्रह गरिरहेको छ । बीमा समितिले कम्पनीहरुलाई ५ अर्ब चुक्ता पुँजी पुर्‍याउनका लागि भनिरहेको छ । जसका लागि समितिले पहिलो प्राथमिकता मर्जरलाई दिइएको छ । के नेपालमा बीमा कम्पनीको संख्या धेरै भएको हो ? यसै पेरिफेरिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलसँग केटिएम भ्वाइसका लागि युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

बजेटले मर्जरको बिषयलाई समेटेन यसबारे तपाइको धारणा के छ ?

बीमा समितिले मर्जर गर्नुपर्छ भनेको छैन् । पुँजी वृद्धि गर्नुपर्छ भनेको हो । बीमा समितिले मर्जर गर्दा के हुन्छ के हुदैन भन्ने निर्देशिका ल्याएको छ । कर छुटका कुराहरु पनि छन् । यो अगाडि नै आइसकेको कुरालाई केही सुधारेर ल्याएको हो । यस बाहेकका नयाँ आयकरहरुमा पनि केही छुट वा सेवा सुविधा भएको भए राम्रो हुने थियो । यस्ता कुराहरु समेटिएको भए कम्पनीहरुलाई मर्जरमा जान प्रेरित गथ्र्यो ती कुराहरु आएनन् ।

पुँजी वृद्धिको योजनाले कम्पनीहरुलाई कति सङख्यामा झार्ला ?

त्यो अहिले ठ्याक्कै यति भन्न सकिने अवस्थामा छैन् किनकि कतिपय कम्पनीहरु आफैँ पुँजी बढाउने अवस्थामा छन् भने कतिपय मर्जरमा जाने अवस्थामा छन् । यो पुँजी वृद्धिको योजनाले छ, सातओटा कम्पनी घट्छन् कि भन्ने अनुमान गर्न सकिन्छ तर यति भनेर तोक्न भने सकिदैन ।

भुकम्प पछि बीमा गर्नुपर्छ भन्ने सकरात्मक सोचको विकास भएको थियो, कोरोनाले त्यो असर पार्‍यो कि पारेन ?

कोरोनाले सामान्य रुपमा सकारात्मक र नकारात्मक दुबै प्रभाव पारेको छ । जस्तोसुकै उमेर समुहका मानिसहरुलाई जुनसुकैबेला अप्ठ्यारो पर्न सक्छ भन्ने कुराले बीमातर्फ सकारात्मक प्रभाव पारेको छ भने बीमा दावी भुक्तानीमा भएको प्रक्रियागत ढिलाइले गर्दा भनेको बेला नपाईने हो कि भन्ने खालको नकारात्मक प्रभाव पारेको छ । तर समग्रमा सकरात्मक प्रभाव बढी पारेको छ ।

नेपालमा जिवन, निर्जिवन बीमा कम्पनीहरु कति हुदाँ पर्याप्त हुन्छ ?

अहिले त्यसको लागि धेरै पक्षको अध्ययन नगरी यति भए हुन्छ भन्ने अवस्था छैन् । कम्पनी कति चाहिने भन्दा पनि कम्पनीले दिने सेवा सुविधा कस्तो छ भन्ने कुरामा भर पर्छ । कम्पनी धेरै थोरे भन्ने कुरा अरु देशलाई आधार मानेर भन्ने गरिएको छ ।

विशेष गरेर भारतलाई बेस मानेर यस्ता कुराहरु आउने गरेका छन् । तर अरु देशमा पनि ती कम्पनीहरु पर्याप्त छन् की छैनन् भन्ने विषयलाई अध्ययन गर्नु आवश्यक हुन्छ । जस्तो भारतमा बीमा कम्पनी धेरै छन् तर त्यहाँको जनसङख्या पनि कति छ भन्नेमा भर पर्छ ।

अनि कम्पनीहरुले प्रतिस्पर्धामा सेवा सुविधाहरु दिएका छन्, छैनन् भन्नेमा पनि भर पर्छ । प्रतिस्पर्धा गर्नलाई पनि कम्पनीको सङख्या चाहिन्छ । सरसर्ती हेर्दाखेरि भारतको तुलनामा नेपालमा बढी बीमा कम्पनीहरु भएको देखिन्छ । तर विस्तृत अध्ययन नगरी यति पर्याप्त छन् भन्न सकिदैन ।

माइक्रो इन्स्योरेन्सको पनि लाईसेन्स दिने कुरा छ, खासमा यो आवश्यक छ कि छैन् ?
माइक्रो इन्स्योरेन्स कम्पनीहरु आउँदा राम्रै हुन्छ । कम्पनीहरु व्यवस्थित हुँदै गयो भने ग्राहकलाई पनि नकारात्मक असर नपर्ला । भएका जिवन निर्जिवन बीमा कम्पनीहरुलाई व्यवसायिक रुपमा थोरै असर पर्ने त पक्कै भयो ।

माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिएर मात्र हुँदैन यसका लागि ग्राहकहरुसँगको सम्बन्ध कस्तो बनाउने, कम्पनीका नियम कानुनहरु के–कस्ता लागु गर्ने भन्ने कुराहरुलाई ध्यानमा राखेर माइक्रो इन्स्योरेन्सहरु स्थापित हुनु पनि राम्रो हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको पुँजी वृद्धिको योजना के छ, कसरी पुँजी पुर्‍याउदै हुनुहुन्छ ?

अहिले बीमा समितिबाट चिठ्ठी आए पनि कसरी अगाडि बढ्ने भन्ने निश्चित भएको छैन । मर्जरमा गएर अगाडि बढ्ने की आफै पुँजी बढाउने भन्ने कुराको तय नभएका कारण अन्योलमा रहेको अवस्था छ ।

अन्तमा केही भन्न चाहानुहुन्छ, नयाँ आउने बीमा कम्पनी अथवा माइक्रो इन्स्यारेन्सलाई ?

अहिले बीमा कम्पनीहरुले गर्नुपर्ने कुराहरु धेरै छन् । अब आउने कम्पनीहरुले राम्रोसँग बुझेर, बीमा व्यवसाय कस्तो र कसरी गर्दा ठीक हुन्छ भन्ने कुरालाई अध्ययन गरेर अगाडि बढ्दा राम्रो हुन्छ ।

यस क्षेत्रमा आएर ग्राहकहरुको सेवा सुविधामा ध्यान दिएर काम गर्दा कम्पनी स्वयम् र समग्र बीमा क्षेत्रका लागि हित हुन्छ । भएका र आउने कम्पनी मिलेर काम गर्न सकियो भने बीमा व्यवसाय तीव्र रुपमा अगाडि बढाउन सकिन्छ । यसो गर्दा हाम्रो अर्थतन्त्रलाई समेत सबल बनाउन सकिन्छ ।