हिमालयन बैंकको एफपीओ निष्कासनको तयारी, सेबोनमा दिईयो आवेदन
वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:३७
shares

काठमाडौं, ११ वैशाख । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने तयारी गरेको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०ः३० कायम गर्न एफपीओमार्फत ९२ लाख ५० हजार ४६९ कित्ता सेयर प्रिमियम मूल्यमा निष्कासन गर्ने योजना बनाएको छ । यो निष्कासन १ अर्ब भन्दा बढीको हुने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट एफपीओको अनुमति प्राप्त गरेपछि पुस २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले पनि प्रस्ताव अनुमोदन गरिसकेको छ । अहिले बैंकले सेबोनसँग सहकार्य गर्दै एफपीओ प्रक्रिया अघि बढाइरहेको छ ।
हाल बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशत मात्र रहेको छ भने कुल पुँजीकोष अनुपात १०.८४ प्रतिशतमा सीमित छ । नियामक निकायको प्रावधान अनुसार कुल पुँजीकोष अनुपात कम्तीमा ११ प्रतिशत हुनुपर्ने भएकाले बैंकले एफपीओमार्फत पूँजी वृद्धि गरी आफ्नो वित्तीय स्थिति सुदृढ पार्ने लक्ष्य लिएको हो ।
बैंकको अनुसार पूँजी मजबुत भएपछि रणनीतिक परियोजनामा लगानी गर्न सहज हुने विश्वास लिइएको छ ।



















