Dhulikhel Eco Banner new

ट्रेड टावरको आइपिओमा आवेदन दिने मंगलवार अन्तिम दिन

1.59K
shares

काठमाडौं, २० जेठ । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको शेयर निष्कासनमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १४ गतेदेखि शेयर निष्कासन सुरू गरेको थियो।

यसअघि निष्कासनको अन्तिम मिति जेठ १९ गते तोकिएको थियो, तर नेपाल सरकारले उपत्यकाभित्र भोटो जात्राको अवसरमा जेठ १८ गते सार्वजनिक बिदा दिएको हुँदा एक दिन म्याद थप गरी आजसम्मका लागि खुला गरिएको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशत बराबरको शेयर बिक्री गर्न पाउने अनुमति प्राप्त गरेको छ। यसअनुसार हाल कम्पनीले सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता शेयर निष्कासन गरेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता र आफ्ना कर्मचारीका लागि ७९ हजार ४३३ दशमलव ८६ कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा माध्यमबाट आवेदन दिन सक्नेछन्।

शेयर निष्कासनको लागि गराइएको मूल्याङ्कनमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी डबल बी माइनस” श्रेणी दिएको छ, जसले कम्पनीको वित्तीय जिम्मेवारी पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।