Dhulikhel Eco Banner new

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, भारतसँग मात्रै दुई खर्ब नजिक व्यापार घाटा

3.03K
shares

काठमाडौं, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा देशको कुल वैदेशिक व्यापार पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको भएको छ। यस अवधिमा नेपालले चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात केवल ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ। यसरी नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ।

छिमेकी मुलुक भारतसँगको व्यापारमा मात्र नेपालले एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालले ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको मात्र निर्यात गर्न सकेको छ। चीनसँगको व्यापार घाटा पनि उच्च रहेको छ। चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा निर्यात केवल १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्र भएको छ, जसले गर्दा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ बराबरको घाटा भएको हो।

नेपालले केही युरोपेली देशहरूसँग भने व्यापार नाफा गरेको छ। सबैभन्दा बढी नाफा डेनमार्कसँग भएको छ। डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात हुँदा नेपालले त्यहाँ २८ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यसरी नेपालले डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा गरेको छ। जर्मनी, रोमानिया, स्वीडेन र लेबनानजस्ता देशहरूसँग पनि नेपालको व्यापार नाफा देखिएको छ।

आयातका वस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी रहेको छ। साउनदेखि असोज मसान्तसम्म नेपालले १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेको छ। यस अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि नेपालमा आयात भएको विभागले जनाएको छ।