Dhulikhel Eco Banner new

बारामा धान उत्पादन बढ्यो

8.76K
shares

बारा, २९ मंसिर । बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए। गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

मूल्यका हिसाबले यस वर्ष ८ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए । उनका अनुसार गत वर्ष ६अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो ।