नागरिक तथा वैदेशिक रोजगार बचतपत्रको ब्याज भुक्तानी लिन राष्ट्र बैंकको आग्रह
वि.सं.२०८२ चैत १६ सोमवार ११:२९
shares

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंक ले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई परिपक्व भइसकेको साँवा तथा ब्याज रकम यथाशीघ्र बुझ्न आग्रह गरेको छ।
केन्द्रीय बैंकअन्तर्गतको मौद्रिक व्यवस्थापन विभाग ले जारी गरेको सूचनामा २०८१ जेठ मसान्तसम्म परिपक्व भएका दुवै प्रकारका बचतपत्रमध्ये केही धनीहरूले अझै भुक्तानी नलिएको उल्लेख गरिएको छ।
सूचनाअनुसार, नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रका सम्बन्धित लगानीकर्ताहरूले आफूले पाउने साँवा तथा आर्जित ब्याज रकम लिन बाँकी रहेकाले ढिलाइ नगरी मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
राष्ट्र बैंकले समयमै भुक्तानी लिन आग्रह गर्दै यसले लगानीकर्ताहरूलाई आर्थिक व्यवस्थापनमा सहजता प्रदान गर्ने जनाएको छ। साथै, आवश्यक कागजातसहित सम्पर्क गरी प्रक्रिया पूरा गर्न पनि सबै बचतपत्रधनीलाई आह्वान गरिएको छ।

















