तिला–१ जलविद्युत् आयोजनामा एनएमबि बैंकको नेतृत्व, ४४.५५ अर्ब ऋण लगानी
वि.सं.२०८३ भदौ ३ बुधवार १०:४९
shares

काठमाडौं,३ भदौ । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालिकोटमा निर्माणाधीन ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजनाका लागि करिब ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानीको वित्तीय व्यवस्थापन गरिएको छ।
एससी पावर कम्पनी प्रालिले कालिकोटको तिला नदीमा निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत करिब ५९ अर्ब ४ करोड रुपैयाँ रहेको छ। उक्त लागतको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाबाट ऋणमार्फत जुटाइने भएको हो। आयोजनाको वित्तीय व्यवस्थापनमा एनएमबि बैंक लिड बैंकका रूपमा रहेको छ।
वित्तीय व्यवस्थापनमा ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। त्यस्तै, अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सदस्य बैंक तथा वित्तीय संस्थाका रूपमा सहभागी भएका छन्।
आयोजनाको प्रवर्द्धक एससी पावर कम्पनी प्रालिको नेतृत्व सुसन कर्माचार्य तथा उहाँको समूहले गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाको कुल उत्पादन क्षमता ४४० मेगावाट रहेको छ।
विद्युत् विकास विभागको विवरणमा पनि तिला–१ जलविद्युत् आयोजना कालिकोटको तिला नदीमा एससी पावर कम्पनी प्रालिले प्रवर्द्धन गरिरहेको ४४० मेगावाट क्षमताको आयोजना रहेको उल्लेख छ।
यसअघि आयोजनाको वित्तीय व्यवस्थापनमा ढिलाइ भएको विषय सार्वजनिक भएको थियो। कान्तिपुरको रिपोर्टअनुसार तिला–१ ले उत्पादन अनुमतिपत्र पाए पनि लामो समयसम्म वित्तीय व्यवस्थापन पूरा गर्न सकेको थिएन। पछिल्लो समय भने आयोजनामा लगानी विस्तारका गतिविधि अघि बढेका छन्। गत जुलाईमा रिज लाइन इनर्जी लिमिटेडले समेत आयोजनाको प्रवर्द्धक एसपी पावरको प्रमोटर सेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो।
आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको ठूलो जलविद्युत् परियोजनामध्ये एकका रूपमा रहेको तिला–१ ले विद्युत् उत्पादनसँगै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वित्तीय व्यवस्थापनका लागि एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीका तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन्।
एनएमबि बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESRM) सम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकनलाई प्राथमिकता दिएको जनाएको छ। बैंकले अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार Hydropower Sustainability Alliance (HSA) को Hydroselect Tool प्रयोग गरी आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन पक्षको मूल्यांकनसमेत गरेको बताइएको छ।
एनएमबि बैंकका अनुसार बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ। बैंकले देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
ठूलो क्षमताको जलविद्युत् आयोजनामा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला तिला–१ को वित्तीय व्यवस्थापनले नेपालको जलविद्युत् क्षेत्रमा दीर्घकालीन लगानी परिचालनका लागि सकारात्मक संकेत दिएको छ।















