Dhulikhel Eco Banner new

भाद्र ९ देखि १४ गतेसम्म नाडा अटो शो २०२६ आयोजना हुने

403
shares

काठमाडौं, ३ भदौ । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एच.पी. लुब्रिकेन्ट्स रहेको छ।

नाडा अटो शोको यो १८औं संस्करण हो। नाडाको ५०औं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा भव्य रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालमा तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक तथा व्यावसायिक अवस्थाको प्रतिनिधित्व हुने आयोजकको भनाइ छ। प्रदर्शनीमार्फत विभिन्न अटोमोबाइल कम्पनीहरूले आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा सार्वजनिक गर्ने तथा ग्राहक र व्यवसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर पाउनेछन्।

नाडा अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनुका साथै उपभोक्तालाई बजारमा उपलब्ध नवीनतम सवारीसाधन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गराउनु रहेको आयोजकले जनाएको छ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका पेसेन्जर कार, १७ वटा लाइट कमर्शियल भेहिकल, १३ वटा दुईपांग्रे सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन तथा सेवाका स्टल रहनेछन्।

प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायत विभिन्न सामग्रीसमेत प्रदर्शन गरिनेछ।

नाडाले नाडा अटो शो २०२६ मा करिब दुई लाख आगन्तुक ले अवलोकन गर्ने अपेक्षा गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा समेत योगदान पुर्‍याउनेछ।

नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यवसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रविधि र प्रवृत्तिको अनुभव गर्न आह्वान गरेको छ।