ब्याज बढ्ने त्रासले बैंकबाट लोन लिन डराउँछन् व्यवसायी
वि.सं.२०८० असोज १६ मंगलवार १६:५३
shares

काठमाडौं, १६ असोज । पछिल्लो समय व्यवसायीहरु बैंकबाट ऋण लिनै डराउँन थालेका छन् । देशमा छाएको आर्थिक मन्दीकै कारण व्यवसायी बैंकिङ कारोबारप्रति हतोत्साहित भएको विज्ञहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकमा हाल २५ अर्ब लगानी योग्य रकम (तरलता) रहेको छ । १ वर्ष अघि तरलता अभावका कारण बैंकहरु ठुलो समस्यामा परेका थिए । अन्तराष्ट्रिय रुपमा सिर्जना भएको आर्थिक मन्दीको असर स्वरुप महाशक्ति राष्ट्र अमेरिकाले २ वटा बैंक गुमाएको थियो । त्यो अवस्था झेलेर आएका बैंकहरु अहिले अटो लोन, घरजग्गा लोनमा अगाडी बढ्न लागेका छन् ।
बैंकहरुले लोन प्रवाह गर्न थाले पनि व्यवसायी भने बैंकबाट लोन लिएर घर बनाउँन, गाडी किन्न आँट गरिहाल्दैनन् । बैंकको ब्याजदर बढि भएको गुनासो गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल व्यवसायीलाई बैंकको ब्याजदर बढि लाग्नु स्वभाविक रहेको बताउँछन् । ‘अहिले राष्ट्र बैंकमा तरलता प्रशस्तै छ ।’ उनले भने, ‘व्यवसायीलाई बैंकको ब्याजदर धेरै लाग्नु स्वभाविक हो ।’ यद्यपि उनले पहिलाको तुलनामा अहिले ब्याजदर घटेको जानकारी दिए । उनका अनुसार बैंकहरुको ब्याजदर आधार दर (बेसरेट) मा भर पर्ने हुँदा बेसरेट घटेपछि आफै ब्याजदर पनि घट्छ ।
नेपाल वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्य व्यापार व्यवसाय ठप्प रहेको बताउँछन् । पुरानो पसल बन्द हुदै गएको अवस्थामा नयाँ सञ्चालन गर्ने कोही पनि नआएको उनको भनाई छ । ‘नेपाल राष्ट्र बैंकले हाल बजारमा ५० अर्ब ऋण लगानी गरेको भनेको छ तर त्यो सबै पुरानो हो नयाँ ऋण त कसैले लिएको छैन ।’ उनले भने,‘ अब चालु पुँजी कर्जा लागु भएपछि मात्रै बजार चलायमान हुन्छ ।’
व्यवसाय गर्ने व्यापारीहरुको अवस्था बेहाल रहेकोमा वैद्य सहमत छन् । ‘अहिले काम गर्न सक्ने स्थिती छैन, ब्याजदर घट्नुको साटो बढेको छ, ठुलाठुला उद्योगधन्दा बन्द भएका छन्, सबैतिर सटर बन्द छ ।’ उनले भने ।
अर्थविद् डा. गोविन्द नेपाल देशको अर्थतन्त्र सुध्रन नसकेको बताउँदै तत्काल सरकारले पनि केही गर्न नसक्ने टिप्पणी गर्छन् । व्यवसायमा आर्थिक मन्दीको प्रभाव निकै परेको उनको भनाई छ । ‘यो समस्या कोभिडको समयदेखि नै आएको हो निकै लामो समय यस्तै भइराखेको छ ।’ उनले भने,‘हाल मान्छेहरुमा आम्दानीको अवसर नभएकाले यस्तो अवस्था आयो ।’
महंगी चर्को भए पनि खाद्य पसलहरु जेनतेन चलेको भन्दै अन्य पसलहरु बाध्य भएर बन्द गरेको उनको बुझाई छ । उनले रेमिट्यान्स निरन्तर आएकाले अटोहरुमा लगानी गर्न केही सहज भएको उनको भनाई छ । सरकारले वैदेशिक रोजगारमा जानबाट रोक्न नसक्ने भन्दै देशमै रोजगारी सिर्जना गर्न सके अर्थतन्त्र सक्षम बनाउँन सकिने उनको भनाई छ ।



















