नगरपालिकाले फूटपाथका व्यापारीलाई माया गरेपछि हामी मारमा : धिरेन्द्र रिजाल
वि.सं.२०८० असोज ११ बिहीवार १८:१०
shares

काठमाडौं, ११ असोज । लगनखेलदेखी कृष्ण मन्दिरसम्मको सडक पेटी दिउँसो सुनसान हुन्छ । सर्वसाधारणले सहजै आउ जाउ गर्न पाउँछन् । जब साँझ पाँच बज्छ, सडक व्यापारीहरुको कारोबार सुरु हुन्छ । त्यसपछिको भिडले सर्वसाधारणलाई समेत सकस हुन्छ ।
ललितपुर महानगरपालिकाले अनुमति दिएकाले सडक व्यापारीहरु सक्रिय भएको भन्दै स्थानिय व्यवसायीले आपत्ती जनाएका छन् । ललितपुर तयारी पोशाक व्यापार संघका महासचिव धिरेन्द्र रिजालले महानगरपालिकाले सडकका व्यापारी च्याप्दा आफुहरु मारमा परेको बताए । ‘त्यसरी फूटपाथमा व्यापार गर्न दिँदा हामी राज्यलाई कर तिरेकाहरु मारमा परेका छौं, हाम्रो व्यापार घटेको छ ।’ उनले भने ।
उनको भनाई अनुसार जसले सटर भाडामा लिएर व्यापार व्यवसाय सुरु गरेको छ । उसले राज्यलाई कर तिरेको छ । कयौंलाई रोजगारी उपलब्ध गराएको छ । ‘तर, नगरपालिकाले हाम्रै पसल अगाडी फूटपाथ राख्न दिएर हामीलाई अप्ठारो पारिरहेको छ ।’ उनले भने ।
दशैंमा पनि व्यापार हुँदैन
आफुले पहिलो पटक चरम आर्थिक संकट भोगेको भन्दै उनले यसपाली दशैंमा पनि व्यापार नहुने ठोकुवा गरे । तीज, कुशे औंसी जस्ता पर्वमा भएको व्यापार विश्लेषण गर्दै धिरेन्द्र भन्छन् ‘यो दशैंमा पनि व्यापार हुन्न तीजमै संकेत देखि सक्यौं ।’ विगतको वर्षमा कुशे औंशी (बुबाको मुख हेर्ने दिन) राम्रो व्यापार भएको भन्दै उनले यसपाली तीजमा पनि टिठ लाग्दो व्यापार भएको कुरा गरे ।
सहकारी डुबेपछि व्यवसायी मारमा
पछिल्लो समय सहकारी डुबेपछि व्यवसायी मारमा परेको उनको भनाई छ । साना व्यवसायीको आर्थिक गन्तव्य बनेको थियो सहकारी । दिनभरि कमाएको पैसा सहकारीमा राख्थे भने आवश्यक परेको बेला लोन पनि सहकारीबाटै लिन्थे । सहकारी बन्द भएपछि कतिपयको बचत कै पैसा डुब्यो भने लोनको कुरा त एकादेशको कथा जस्तै भएको छ ।
सहकारीको हालत यति खराब हुनुमा बैंकहरुको हात रहेको आरोप लगाउछन् धिरेन्द्र । उनी हाकाहाकी भन्छन् ‘बैंकहरुले ब्याज धेरै दिन्छु भनेर सहकारीमा भएको पैसा ताने अनि सहकारी डुब्यो ।’ सर्भिस चार्ज समेत गरेर बैंकहरुले अहिले १८ प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै धिरेन्द्र भन्छन् ‘यदि अर्थतन्त्रलाई चलायमान बनाउने हो भने अब बैंकले सामान्य व्यवसायीलाई पनि लोन दिनु पर्छ ।’ अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले विना धितो लोन दिनु पर्ने धारणा राखे ।
संस्था पनि कमजोर भयो
२७ वर्ष अगाडी तयारी पोशाक तथा जुत्ता व्यवसायीको पहलमा स्थापना भएको थियो ललितपुर तयारी पोशाक व्यापार संघ । व्यवसायीका बिचमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको संस्थाले अहिले त्यस किसिमका कार्यक्रम गर्न पनि सकेको छैन । ‘अर्थतन्त्र धारासायी भएकाले अहिले हामीले पनि गर्नु पर्ने जति काम गर्न सकेका छैनौं ।’ उनले भने ।



















