Dhulikhel Eco Banner new

नाइमा मोबिलिटी एक्स्पोको आजअन्तिम दिन, पाँच दिनमै लक्ष्यभन्दा बढी अवलोकनकर्ता

455
shares

काठमाडौं, ३१ साउनकाठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पाँचौँ दिनसम्मै आयोजकले राखेको १ लाख ५० हजार अवलोकनकर्ताको लक्ष्य पूरा भएको छ। शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्।

साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। पाँच दिनमा अवलोकनकर्ता संख्या १ लाख ५० हजार नाघेको आयोजकले जनाएको छ।

शनिबार अवलोकनकर्ताको भीड अत्यधिक बढेपछि पार्किङ व्यवस्थापनमा समेत समस्या देखिएको थियो। भृकुटीमण्डप परिसरका खाली स्थानसँगै नेपाल पुलिस क्लब र खाद्य गोदाम ग्राउन्डमा समेत पार्किङको व्यवस्था गरिएको थियो।

भारी वर्षाका बाबजुद एक्स्पोमा दर्शकको चाप घटेको थिएन। नयाँ विद्युतीय कार, ई–स्कुटर तथा व्यावसायिक विद्युतीय सवारीसाधनमा विशेष आकर्षण देखिएको छ। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्नुका साथै छुट, बीमा, सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियतपूर्ण कर्जाजस्ता अफर दिएका छन्।

एक्स्पोमा हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्। पाँचौँ दिन लक्ष्मी मोटरहबले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको छ। समग्रमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।

अवलोकनकर्ताले विशेषगरी ब्याट्री क्षमता, रेन्ज, मोटर, आफ्टर–सेल्स सर्भिस, ब्याट्री वारेन्टी तथा रिसेल भ्यालुमा चासो देखाएका छन्।

आयोजक अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोको लक्ष्य पूरा भइसकेको भन्दै अन्तिम दिन अझ ठूलो सहभागिताको अपेक्षा गरेका छन्।

एक्स्पोको भोलि अर्थात् साउन ३१ गते आइतबार अन्तिम दिन हो। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ।