Dhulikhel Eco Banner new

बीमालाई जोखिम व्यवस्थापनसँगै दीर्घकालीन बचतका रूपमा पनि हेर्नुपर्छ : खड्का

364
shares

काठमाडौं ।नेपालमा बीमाको पहुँच पछिल्लो एक दशकमा उल्लेख्य रूपमा विस्तार भएको छ। केटीएम भ्वाइससँगको कुराकानीका क्रममा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले बीमाको पहुँच ७–८ प्रतिशतबाट बढेर अहिले झण्डै ५० प्रतिशत पुगेको बताएका हुन्।

सीईओ खड्काले बीमा क्षेत्रलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन नेपाल बीमा प्राधिकरणले नियामकीय नेतृत्व गरिरहेको बताए। बीमालाई केवल जोखिम हस्तान्तरण गर्ने माध्यमका रूपमा मात्र नहेरी दीर्घकालीन बचत र भविष्यको आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने उनको धारणा छ।

“हामी बीमालाई जोखिम व्यवस्थापनको पक्षबाट हेर्छौं र त्यसपछि दीर्घकालीन बचतका रूपमा पनि हेर्छौं,” खड्काले भने।

बीमा र बैंकिङबीच तुलना हुने गरेको उल्लेख गर्दै उनले लगानीकर्ताले प्रतिफलका आधारमा लगानीको क्षेत्र छनोट गर्ने सामान्य प्रवृत्ति रहेको बताए। जहाँ प्रतिफल बढी हुन्छ, लगानी पनि त्यतैतर्फ जाने उनको भनाइ छ। पछिल्लो करिब सात वर्षयता बीमा क्षेत्रमा प्रिमियम संकलन बढ्दै गएको उनले बताए।

विशेषगरी जीवन बीमामा दाबी भुक्तानीको प्रक्रिया तुलनात्मक रूपमा स्पष्ट रहेको उनको भनाइ छ। जीवन बीमामा मृत्यु दाबी वा परिपक्वता दाबीका आधारमा भुक्तानी हुने भएकाले यसको प्रक्रिया प्राविधिक रूपमा पनि स्पष्ट रहेको उनले बताए। तर गैरजीवन बीमामा दाबीको प्रकृति, क्षतिको मूल्यांकनलगायतका विषय जोडिने भएकाले प्रक्रिया केही जटिल हुन सक्ने उनले बताए।

दाबी प्रक्रियालाई थप व्यवस्थित बनाउन नियामक निकायले प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको खड्काले बताए। उनका अनुसार बीमा क्षेत्रमा ‘क्लेम ट्र्याकिङ सिस्टम’ समेत अनिवार्य गरिएको छ। यस्तै, बीमा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग पनि तीव्र रूपमा बढिरहेको छ।

बैंकिङ क्षेत्रमा डिजिटल ऋण उपलब्ध भएजस्तै विभिन्न वालेट तथा मोबाइल एपमार्फत बीमा सेवा उपलब्ध गराउने अभ्यास बढिरहेको उनले बताए। नेपाल डिजिटल बीमाको प्रयोगका हिसाबले दक्षिण एसियामै अगाडि रहेको दाबी गर्दै उनले प्रविधिको विकाससँगै ग्राहकले अनलाइन माध्यमबाट समेत बीमा सेवा लिन सक्ने वातावरण बनेको बताए।

नयाँ पुस्तालाई बीमासँग जोड्नुपर्नेमा पनि खड्काले विशेष जोड दिए। बीमा सचेतना र बीमा क्षेत्रमा करियरका अवसरबारे जानकारी दिन कलेज तथा शैक्षिक संस्थामा पुग्ने गरेको उनले बताए।

बीमासम्बन्धी शिक्षा विद्यालय तथा विश्वविद्यालय तहबाटै सुरु गर्नुपर्ने उनको धारणा छ। नेपालमा बीमालाई पाठ्यक्रममा समावेश गर्ने विषयमा छलफल अघि बढिरहेको उल्लेख गर्दै उनले बीमालाई सामान्य वित्तीय विषयका रूपमा नभई जीवन र भविष्यको आर्थिक सुरक्षासँग जोडेर बुझाउनुपर्ने बताए।

“बीमा भनेको गास, बास, कपासजस्तै प्राथमिकतामा पर्नुपर्ने विषय हो,” खड्काले भने। “आफू नभएको अवस्थामा परिवारलाई कसले हेर्छ भन्ने प्रश्नको एउटा उत्तर बीमा पनि हो। बीमालाई मरेपछि पैसा पाइने कुराका रूपमा मात्र हेर्नु हुँदैन। यसले भविष्यका लागि आजैदेखि सोच्न प्रेरित गर्छ।”

पछिल्लो एक दशकमा बीमाको पहुँचमा भएको विस्तारलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। बीमालाई जोखिम व्यवस्थापनसँगै दीर्घकालीन बचत र भविष्यको आर्थिक सुरक्षाको माध्यमका रूपमा बुझ्नुपर्ने उनको जोड छ।