Dhulikhel Eco Banner new

एआई र अटोमोबाइल प्रविधिमा नेपाल कहाँ छ?

299
shares

काठमाडौं, ३१ साउन । नेपालमा विद्युतीय तथा आधुनिक सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै गए पनि त्यससँग सम्बन्धित एआई, डेटा व्यवस्थापन, साइबर सुरक्षा, अनुसन्धान र दक्ष जनशक्ति विकासमा नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ विषयक छलफलमा उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले नेपालले अब सवारीसाधन आयात र बिक्रीमा मात्र सीमित नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनुपर्ने बताएका हुन्।

वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले एआईलाई ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा प्रयोग गर्न सकिने बताए। सवारीसाधनका सेन्सरबाट प्राप्त तथ्यांक विश्लेषण गरी सडकको अवस्था पहिचान, सुरक्षित ड्राइभिङ र प्रभावकारी सेवा दिन सकिने उनको भनाइ छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले आधुनिक सवारीसाधनबाट उत्पादन हुने डेटा, साइबर सुरक्षा, गुणस्तर परीक्षण र प्रविधि नियमनमा सरकारको भूमिका बलियो हुनुपर्ने बताए। नेपालमै डेटा सुरक्षित राख्ने सम्भावना र त्यसको लागतबारे पनि नीतिगत अध्ययन आवश्यक रहेको उनले बताए।

टेक्स कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले नेपालमा शिक्षा प्रणाली अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट र डेटाबेसजस्ता परम्परागत विषयमा बढी केन्द्रित रहेको बताए। आधुनिक सवारीसाधनमा प्रयोग हुने एआई, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फोरेन्सिक्स जस्ता विषयलाई शिक्षामा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।

नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युटकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी घटाउने प्रविधिका रूपमा मात्र नभई कामलाई सरल, अनुसन्धानलाई प्रभावकारी र नयाँ सम्भावना पहिचान गर्ने माध्यमका रूपमा हेर्नुपर्ने बताइन्। नेपालमा अनुसन्धानको इकोसिस्टम बनाउन दीर्घकालीन लगानी आवश्यक रहेको उनको भनाइ छ।

छलफलका वक्ताहरूले उद्योग, सरकार र अनुसन्धान संस्थाबीच सहकार्य गर्दै स्थानीय सडक, ट्राफिक र पूर्वाधारसम्बन्धी तथ्यांकमा आधारित अनुसन्धानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।

नेपालले अब अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको आयात र बिक्रीका रूपमा नभई एआई, डेटा, सफ्टवेयर, साइबर सुरक्षा र नवप्रवर्तनसँग जोडिएको प्रविधि उद्योगका रूपमा विकास गर्नुपर्ने निष्कर्ष छलफलले दिएको छ।