नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
वि.सं.२०८३ भदौ ४ बिहीवार १३:२७
shares

काठमाडौं, ४ भदौ । आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरटेक ट्रेड फेयर एन्ड इभेन्टको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्।
विद्युत्, ऊर्जा, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, वायरिङ सामग्री, केबल, कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक उपकरण, घरेलु विद्युतीय सामग्री, कार्यालय तथा सञ्चार प्रविधि, सूचना प्रविधि र वैकल्पिक ऊर्जा प्रणालीलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ।
आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा तथा विद्युत् क्षेत्रमा प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन, व्यापार विस्तार र अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिनेछ। साथै उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, प्राविधिक, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सहकार्य संस्थाका रूपमा रहेका छन्।















