Dhulikhel Eco Banner new

सिँजा उपत्यका, हीमा नदी र मुगुको दाल

9.87K
shares

तालबाट ताल्चातिर
२०७८ चैत्र १६ गते बिहान हाम्रा लागि रोमाञ्चक र विष्मयकारक दुवैको मिश्रण बनेर आयो । राराले राम्रै मोहनी लगाइसकेकी थिइन् हामीलाई । स्वच्छ कञ्चन पानी, जडिबुटी मिश्रित औषधीय हावा, वरिवरिका चुचेमारा, छायानाथ, काञ्जिरोवा, चङ्खेली तथा साइपाल हिमालबाट सोझैँ हाम्रो फोक्सोमा आइपुग्ने शीतार्द वातावरणले आच्छादित रारा र मुस्कुराइहेकी मुर्मा टपलाई छोड्दै ताल्चा विमानस्थल र मुगु जिल्लाको सदरमुकाम गमगढीतर्फ अगाडि बढ्नु थियो हामीले ।

नयाँ ठाउँतिर जानु रोमाञ्चक थियो भने रारालाई छोड्नुपर्दा विष्मयमा परेका थियौँ हामीहरू ।
क्याप्टेन साहेबले बिहान ७ बजे नै तयारीका लागि नाविक मित्रहरूलाई भनिसक्नुभएको थियो र सोही अनुसार तयारीमा थियौ हामी पनि ।

रारादेखि ताल्चा विमानघाटको दुरी लगभग ५ किलोमिटर । तालदेखि ताल्चासम्म एक घन्टा समय लाग्ने । विमानस्थलमा प्लेन कति बेला आउने ठेगानै नहुने । डाक्टर द्वयले त्यही दिन नेपालगञ्ज फर्किनुपर्ने । मित्रहरू प्रह्लाद, विद्यामान, पूर्ण र समिरले गमगढीमा समेत कार्यालयीय काम गर्नुपर्ने । हामी केही हतारमै थियौँ ।

एक घन्टाजति जलयात्रा गरेर रारा पार गर्नुपर्ने । म त हिड्न नै रमाउने मान्छे तर सबैको रुचि यौटै हुँदैन । यात्रामा साथीहरूको सल्लाह नै सर्वोपरि हुन्छ । हुन त रारा वरिपरिको अधिकांश भाग हामीले अघिल्लै दिन छिचोलिसकेका थियौँ ।

शरीरको छालामा कति छिटो लेकको प्रभाव पर्दो रहेछ । आधा निधार टोपीले छोपेको हुँदा गोरो, आधा चाहि लेक लागेर कालो भइसकेको थियो टारबारी आधा जोतेर आधा बाँझै रहेजस्तो ।

उपयोग हुन नसकेको प्राकृतिक स्रोतसाधन

रारा वरिवरिको प्रकृतिप्रदत्त स्रोतहरू जस्तै जडिबुटी, बन पैदावारको उपयोग नभएर त्यसै सडेर गएको देखियो । एक त संरक्षण क्षेत्र भएकाले जङ्गल पस्नै नपाइने त्यसमाथि पातलो बस्तीका कारण प्राकृतिक साधन उपयोग नै हुन नसक्ने स्थिति देखियो रारा क्षेत्रमा ।

काठदाउरा त्यतिकै सडिरहेका छन्, जडिबुटीको हालत कस्तो छ त्यो त एक दिनमा भन्न सक्ने कुरा भएन । सोको उपयोगका सम्बन्धमा स्थानीय सरकारले पनि केही नीतिगत व्यवस्था त गरेको होला कि के छ । वातावरण र प्राकृतिक साधन क्षति नहुने गरी दिगो व्यवस्थापन गर्न र स्थानीय साधनको उपयोगमार्फत स्थानीय तथा राष्ट्रको आम्दानी सुनिश्चित गर्न प्राकृतिक साधन उपयोग नीति लागु गरी सोको उपयोग गर्नुपर्ने आवश्यकता खट्कियो हामीलाई ।

ताल्चा विमानस्थल : फेदीमै छ सुधारको गति

रारा छोडेको करिव एक घण्टामा हामी ताल्चा विमानस्थल पुग्दछौँ । गमगढीबाट करिव पाँच किलोमिटरको दूरीमा रहेको ताल्चा विमानस्थल, कालोपत्रे भइसकेको तर पहाडी भिरालो स्थानमा रहेका कारण वर्षामा पनि प्लेन चल्ने ।

हुन त दुर्गम पहाडी जिल्लाका विमानस्थलको व्यवस्थापकीय पक्ष सुधार उकालो लाग्न थालेकै छैन । प्लेन बिहानै ल्याए पनि भयो, एक दुई घन्टा ढिला गरे पनि भयो, केन्सिल गरे पनि भयो, जसलाई उडाए पनि भयो, टिकट दिइसकेका लाई नउडाए पनि भयो, चिनजानको मान्छे आइपुग्यो भने सर्वसाधारणलाई तपाईँको भोलि मात्र है भने पनि भयो ।

बोल्न नसक्नेको विजोग । सर्वसाधारणका लागि सेवा प्राप्ति दुर्लभ अझैँ । खास गरी टिकट गरे पनि उडानको अनिश्चितता ।

विद्यामान, पूर्ण, समिरले गमगढीबाट तथ्याङ्क सङ्कलन गर्नुपर्ने र भ्याए सम्म नेपालगञ्ज झर्नुपर्ने । हतारहतारमै डा. द्वयलाई ताल्चा विमानस्थलमा छोडेर अरू हामी गमगढीतर्फ लाग्छौँ । अघिल्लो दिन सल्लेरीमै रहेका गाडीसारथी भाई बिमानस्थलमा आइपुगिसक्नु भएको थियो ।

मुगु कर्णालीको दृश्य र गमगढी बजार

ताल्चा विमानस्थलदेखि गमगढी बजारतिर झर्दा देखि नै मुगु कर्णालीको दृश्य मनोरम देखिइरहेको थियो खाम्तेलको भाटगाउँबाट पञ्चकौशिकाको दृश्यजस्तै ।

फरक कति भने भाटगाउँबाट पञ्चकौशिका सङ्लो र कञ्चन देखिन्थ्यो भने ताल्चा विमानस्थलबाट गमगढीतिर लागेपछि देखिने मुगु कर्णाली धमिलो थियो । हुन त हामी सानासाना हुँदा देखिने अधिकांश नदीहरू अहिले धमिलिइसकेका छन्, प्रदूषित भइसकेका छन् । प्रदूषण हुने गति बढ्दै पनि जाने देखिन्छ प्रदूषणका कारकलाई तत्काल नरोकेमा ।

१५ मिनेटको यात्रापछि हामी गमगढी बजार पुग्छौँ । साथीहरू आफ्नो कामका लागि विभिन्न सरकारी कार्यालयतर्फ लाग्नुहुन्छ । लगभग ११ बजिसकेको हुनाले पेटपुजाको मेलो गर्नुपर्ने भइसकेको अवस्था । हामीले खानाका लागि अर्डर दियौँ,  कर्णालीको अर्गानिक कालो दाल र मार्सी चामल ।

हामी पनि भीआइपी भएका नि । भिआइपी खानाका रूपमा मार्सी चामल निकै चर्चा छ नि केही समयदेखि नेपालमा । तर चर्चामा आए जति स्वादिष्ट, नरम र वासनादारचाहिँ लागेन है मलाई चाहिँ ।
गमगढी बजारको आर्थिक तथा बैंकिङ गतिविधिबारे बुझ्न ग्लोबल आइएमई बैंक छिर्छु म । अधिकांश खुद्रा व्यापारिक क्षेत्रमा ऋण प्रवाह हुने तथा कृषि कर्जा खासै प्रवाह नहुने शाखा व्यवस्थापकले जानकारी गराउनुभयो मलाई ।

अर्धसहरी तथा तराई क्षेत्रमा त सहुलियतपूर्ण कर्जाको उपयोग वास्तविक कृषकले गर्न नसकेको बरु सोको फाइदा पनि टाठाबाठाले नै लिएको देखिइरहेको बेला मुगुमा सहुलियतपूर्ण कर्जाको लक्षित समूहद्वारा उपयोग गर्ने भन्ने कुरा सपना नै त हो ।

सानो ठाउँमा अटाएर मिलेर बसेको छ गमगढी बजार जाडामा भेडाबाख्रा गुजुमुज्ज भएर बसेजस्तै । विस्तारका लागि त्यति ठाउँ छैन गमगढीका लागि ।

घडेरी अचाक्ली महँगी छ गमगढीमा । त्यहीँ हुँदै पनि लगभग एक करोडमा एउटा घडेरी खरिदबिक्री भएको कुरा सुनाउनुभयो विद्यामानजीले । विद्यामानजीको ससुराली गाउँ रहेछ । उहाँले त मेजमान पनि भ्याउनुभयो ।

ताल्चाबाट झर्दा दाहिनेपट्टिको गहिरोतिर बजार विस्तार हुँदै रहेछ गमगढी । खेतीयोग्य जमिन मासिँदै बजार विस्तार हुँदै, नेपालकै रोग हो यो दुःख लागेर के गर्नु र । दुख्नुपर्नेलाई दुख्दैन, अर्थ नहुनेलाई दुखेर काम छैन ।

कालो दालको ब्रान्डिङ मुगुले किन नगर्ने ?

जुन देश वा जुन ठाउँमा जे उत्पादन हुन्छ वा जे उपलब्ध छ सो ठाउका लागि सो चिज सम्पत्ति हो । जुम्लाका लागि मार्सी चामल जति परिचित छ मुगुका लागि कालो दाल त्यति नै परिचयदायक बन्न सक्छ । अब मुगुले कालो दाललाई आफ्नो बनाउन भने सक्नुपर्छ ।

लेकमा उत्पादित वस्तु किन बढी स्वादिलो र मिठो हुन्छ ?

जुन वस्तु परिपक्क (मेचुअर्ड) हुन जति लामो समय लाग्छ त्यति नै त्यस वस्तुमा पौष्टिक तत्व जम्मा हुने गर्दछ र स्वादिष्ट पनि हुन्छ । त्यसै कारणले लेकमा फलेका मकै बढी गुलिया र स्वादिला हुन्छन् । मुगुको कालो दालमा पनि यही भएर बढी स्वादिलो भएको होला । यस दालको व्यावसायीकरण पनि गर्नुपर्छ मुगुले । यसबाट सामान्य कृषकको आम्दानी पनि बढ्ने हुन्छ । तत्लो तहसम्म आय वितरण हुन्छ । अर्थतन्त्रका लागि सुखद कुरा हुन्छ यो ।

अफ सिजन भएर होला सितिमिति नभेटिँदो रहेछ त्यो दाल । स्थानीय हेड सरको प्रयासमा पूर्ण भाइले खोज्नुभयो । पछि त होटल वालाले पनि उपलब्ध गरायो काठमाडौँका लागि कर्णालीको कोसेली ।

यसबीचमा डाक्टर द्वय उड्नुभएछ नेपालगञ्जका लागि । तर प्रह्लाद र विद्यामानजी भने भोलिपल्ट मात्रै जानुहुने भएछ । हामी भने गाडीमा नै फर्किने भएकाले लगभग एक बजेतिर गमगढीबाट वीरेन्द्रनगरका लागि प्रस्थान गर्‍यौं मुगुलाई वाइवाइ गर्दै ।

बुलुबुलेमा हिमक्रिडा

हामी पहाडी तथा तराइबासीहरूका लागि हिमसाक्षात्कर गर्न पनि जुर्नुपर्दो रहेछ । कि हिउँ परेका बेला बुर्कुसी मारेर नगरकोट, चन्द्रागिरी वा अन्य चुचुरातिर कुद्नुपर्‍यो । आफू त्यो स्वभावको पनि परिएन । पहिलोचोटि हिमसाक्षात्कार गरेको पनि २०६८ फागुनमा कोरियामा मात्र हो ।

सिसनको औपचारिक कार्यक्रममा गएको हुनाले आनौपचारिक कार्यमा संलग्न हुन पनि अप्ठ्यारो । त्यसैले हिउँसँग अघाउजी खेल्ने रहर मेट्न कर्णालीको बुलबुले पुग्नुपर्‍यो मलाई ।

कर्णालीका अधिकांश अग्ला टाकुरामा हिउँ पग्लन बाँकी नै थियो चैतको आधाउधी बित्दा पनि ।
फर्कन ढिला त भइसकेको थियो तै पनि जहाँ पुग्यो त्यहीँ बास बसे हुने खालको हिँडाइ भएको हुँदा लोठ सल्लाको दर्शन र हिमक्रिडाका लागि लाग्यौ हामी हिमडाँडातिर । दाहिने पाटोमा भेडा चरिरहेका छन् देब्रेपट्टिको पाटोमा हिउँ पग्लन बाँकी नै रहेको छ । हामीले लगभग एक घन्टा हिउँ खेलेर नै बितायौँ बुलुबुले डाँडामा ।

बाहनबाटै सिँजाको दर्शन र मान्माको बास

१४ गते रारातर्फ जाँदा सिँजा उपत्यका आउला आउला भन्दा भन्दै कतिबेला कटिएछ पत्तै पाइएन । रात पर्न लागिसकेको हुँदा श्याल आदि वन्यजन्तुको दर्शन पनि हाम्रा लागि नौलो नै हुन पुग्यो । हिमा नदी जुम्ला जिल्ला र सिँजा सभ्यताको शान नै रहेछ ।

हिमा नदीले बनाएका फराकिला खेत र फाँट नै सिँजा उपत्यका रहेछ । फिर्दा मात्र थाहा पाइयो । तर हिमा नदी जुम्लाको मात्र नभए कर्णालीकै शान रहेछ । हुन त जुम्लाको खलङ्गाबाट बग्ने तीला नदी पनि फाट र खेत बनाएर नै बगेकीरहिछन् तर हिमा नदीको अझै कहाँ हो कहाँ बढी ।

सिँजा उपत्यका, नेपाली खस आर्य सभ्यता तथा नेपाली भाषाको उदगमस्थल । कसरी नेपाली भाषा त्यहाँबाट उत्पति र विकास भयो होला ? मुसलमानको आक्रमणपछि धर्म–संस्कृतिको रक्षाका निम्ति हाम्रा पुर्खाहरू भारतको कान्यकुब्जबाट भारतको अहिलेको उत्तराखण्ड तथा उत्तरप्रदेशबाट नेपालतर्फ अघि बढेको कुरामा धेरैको सहमति छ ।

अनि उनीहरू पूर्वतिर अघि बढ्दै जाँदा सुन्दर, हराभरा, उर्वर सिँजा उपत्यका आइपुगेको र त्यहीँ बसोबास गरेर बसेको अनुमानलाई गलत भन्न सकिन्न । संस्कृत भाषा पहाडी प्रकृतिसँग मिसिएर नयाँ नेपाली भाषा इशाको १००० को आसपासमा जुम्लाको सिँजा क्षेत्रबाट विकास भएको तथ्य इतिहाँसले बोल्दछ ।

धर्म संस्कृति कति प्यारो हुन्छ बुझ्नेका लागि । आफ्नो थातथलो समेत पर्वाह नगरी धर्म संस्कृति रक्षाका लागि सिँजा आइपुगेका हुन् हाम्रा पुर्खा भारतबाट । हामी भने धर्म संस्कृति भन्ने बित्तिकै रुढि, परम्परावादी, पश्चगामी भन्ने बुझ्न थाल्यौँ ।

म धार्मिक भन्दा गर्व गर्ने लाग्न सक्नुपर्छ र मात्र मानिस आत्मैदेखि नैतिक, संयमी, अनुशासित, विनयशील हुन सक्छ । धर्म संस्कृतिको जरा काटेर विदेशीको सतही संस्कारमा मिसिन हतार गरेर हामी क्रमशः बधशालातिरको यात्रामा छौँ भन्न मलाई कुनै साइत हेरिरहनुपर्दैन ।

यसै क्रममा यी लाइन नलेखी हिमा नदी र सिँजा सभ्यताप्रति न्याय नहुने लाग्यो मलाई :
सिँजा क्षेत्र हीमा नदी अभेद्य यो नाता
मेरो सभ्यताकी स्रोत तिमी मेरी माता ।

सधैँ शान्त रहने हे हीमा ! सुरसिली
फराकिला फाँट खेत उब्जामा भरिली
कर्णालीकी हीमा तिमी सिजाकी हौ शान
तिम्रै तिरमा तपी पुर्खा पाउँछन् तत्व–ज्ञान ।

तिमी भाषा संस्कार अनि सभ्यताकी स्रोत
मेरा जरा त्यहीँ मिल्छन् गरे शोध खोज
गङ्गे ! शान्त स्वच्छ रहू युगौँ युग तक
प्रकृतिमै जीवन बाँच्ने कर्णालीको हक ।

सिँजा क्षेत्र हीमा नदी अभेद्य यो नाता
मेरो सभ्यताकी स्रोत तिमी मेरी माता ।

पहाडी खस सभ्यताको जनक सिँजा उपत्यका र हीमा नदीबीच अटुट सम्बन्ध रहेको र यो नाता भविष्यमा पनि नमेटिने देखिन्छ । जनसङ्या बढ्दै गएपछि सो क्षेत्रबाट कालिकोट र दैलेखका विभिन्न स्थानतर्फ जनसङ्ख्या विस्तार हुँदै गएको र विभिन्न स्थानका आधारमा पहाडी खस आर्यका थरहरू विकास हुँदै गएको देखिन्छ।

यसपछि हामी आचार्य वंशका पुर्खाहरू लमजुङ आइपुगेको र कयौँ पुस्तापछि खोटाङका किराती राजाले गुरु पुरोहित बनाएर गंगु आचार्य जीवालाई खोटाङ लगेको इतिहास उल्लेख छ (आचार्य वंशावली–२०६८, शालीग्राम आचार्यसमेत) ।

यसरी आफ्ना वंशको जरा खोतल्दै जाँदा पुग्नै पर्ने स्थान सिँजा उपत्यका घुम्ने रहर भए पनि हामी बाहनीय दर्शनमा मात्रै चित्त बुझाउनु पर्‍यो। जे होस् ४०/५० औँ जीवाहरूको पाइलामा आफूले पनि पाइला पार्न पाएकोमा गौरवान्वित हुँदो लगभग साँझको समयमा सिँजा पार गछौँ हामीहरू ।

वीरेन्द्रनगर झर्ने समय थिएन हामीसँग । भोलि १२ बजेसम्ममा मात्र पुग्ने हो हामी वीरेन्द्रनगर तसर्थ बीचमा वास बस्नुपर्ने थियो हामीले । जुम्लातिर छुट्टिने नाग्मा आइपुग्दा झण्डै साँझ परिसकेको थियो । सारथि भाइ पनि निकै थाकिसकेका थिए ।

नाग्मामै बस्ने हो भाइ ?

हैन सर मान्मासम्म जाऊँ । सारथि भाइको सल्लाह थियो यो ।
‘हामी त बसिदिने हो । तपाईँलाई कुनै समस्या त छैन नि ।’
‘केही छैन सर । म त सल्लेरीमा स्थानीयको घरमा दोहोरी खेल्दै रमाइलो गरेर बसेँ । पुरै निद्रा पुगेको छ । बरु हजुरहरूलाई गाह्रो भए यहीँ बस्ने कि । मान्मा पुग्न पाए भोलिलाई बाटो छोटिन्छ ।’ सारथि भाइको सुझाव थियो यो ।

रमाइलो गर्न खप्पिस रहेछन् सारथि भाइ । चिनजान नभएको ठाउँमा छिट्टै आफन्त हुन सक्नु र मनभित्र पस्न सक्नु मानिसको लोभलाग्दो कला । ‘त्यसो भए जाऊँ मान्मासम्म’ भन्ने सल्लाह गरियो ।
बीचमा पिली भन्ने सुन्दर गाउँ रहेछ सुर्खेतका पङ्खप्रसाद आचार्यको गाउँ । आफ्नोपन महसुस भयो । नाग्मादेखि मान्माको बाटो राम्रो भएको हुनाले आठबजे पुग्ने अनुमान थियो हाम्रो ।

मान्मामा कहाँ बस्ने । त्यहाँ पुग्दा आठ बजिसक्ने अवस्था थियो । झट्ट याद आयो कृषि विकास बैंकको सहजीकरण । बैंककै अतिथि गृह पनि हुन सक्छ त्यहाँ अनुकूल नभए पनि त्यहाँका कर्मचारीले बन्दोबस्त त गरिदिनुहुन्छ । कृषि विकास बैंकका धेरै ठाउँमा अतिथि गृह उपलब्ध छन् । राष्ट्र बैंकमा मसँगै सेवा प्रवेश गर्नुभएका र पछि कृषि विकास बैंकमा गई दोस्रो उच्च पदमा पुग्नुभएका मित्र प्रताप सुवेदीलाई फोन लगाउन थाल्छु म ।

‘ठिकैको ठाउँ छ, सल्लाह गरेर बस्नुहोला, फरक पर्दैन ।’ प्रतापजीको सल्लाह थियो यो ।
मेनेजर साहेब हुनुहुँदो रहेछ प्रा. जगत उपाध्याय, सदस्य सचिव नेपाल प्रज्ञा प्रतिष्ठानका भतिज विनय पाण्डे । ढुङ्गो खोज्दा देउता मिल्यो ।

उहाँको आतिथ्यमा रमायौँ हामी त्यस साँझ । घरै पुगेजस्तो भयो । भोजनसमेतको आतिथ्य । उहाँलाई अलि बोझ दियौँ हामीले भन्ने अनुभव भयो । भोलिपल्ट बिहानै कर्णाली छोडेर वीरेन्द्रनगर गन्तव्यका लागि माथ्लो र तल्लो डुङ्गेश्वरतर्फ यात्रामा थियौँ हामीहरू ।

 

Follow Up

रारा रानीसँग लुटुपुटु

रारा रानीसँग लुटुपुटु