Dhulikhel Eco Banner new

रारा रानीसँग लुटुपुटु

10K
shares

रारा दर्शनको हतारो
रारा पुग्नभन्दा १५ मिनेट वर सल्लेरीमा भोजन गर्ने तयारीमा थियौँ हामीहरु । राराको दृश्यपान गर्न आतुर थियौँ हामी । उक्त एक घन्टा समयको पर्खाइ हाम्रा लागि निकै कठिन भइरहेको थियो । मुगुको गमगढीबाट लगभग सात किलोमिटर र राराबाट १ किलोमिटरको दुरीमा रहेको सल्लेरी रारा प्रवेशको पूर्र्व–दक्षिण स्थान, भोजन प्राप्ति र सवारीको अन्तिम बिन्दु ।

त्यहाँबाट १५ मिनेटको दुरी मात्रलेटाढा थिइन् रारा रानीसाहेब । सल्लेरीबाट रारातिर लागेपछि खाने र बस्ने ठाउँ उपलब्ध नभएकाले बिहानको पेटपुजाका लागि सो ठाउँको विकल्प थिएन हामीसँग ।
डोल्पा निवासी हाम्रा सहकर्मी तथा सहयात्री विद्यामान महताराले सल्लेरीमा खानाका लागि यात्राको बीचबाटै बुक गरिसक्नु भएको थियो । ‘खानामा कालो सिमीको दालचाहिँ नछुटाउनु है ।’ चिरपरिचित होटलवालालाई विद्याजीको मित्रवत् अपरिहार्य आग्रह थियो यो । कालो सिमी मुगुको विशेष उपहार जुम्लाको रातो मार्सी चामलजस्तै ।

गोठीज्यूलाबाट लगभग ६४ किलोमिटरको यात्रा तय गरिसकेका थियौँ हामीले । ऐतिहासिक, सामाजिक, तथा प्राकृतिक दृष्टिले सुन्दर सिँजा उपत्यकाको निकट रहेको गोठीज्यूलालाई पाँचै बजे बाइबाइ गरेका थियौँ हामीले । साढे आठ बजिसकेको छ त्यो २०७८चैत १५ गतेको दिन । अन्नको शरीर भन्छन्, थप अन्न खोजिरहेको थियो शरीरले ।

अघिल्लो बेलुकाको गोठीज्यूलाको चिसोमा यात्राको उत्साह र अर्गानिक खानाको तागत थियो तैपनि त्यो तागत बुलबुले डाँडाको अर्गानिक जडिबुटीयुक्त चियाले समेत थेग्न नसकी सल्लेरीसम्म पुग्दा निकै न्यूनीकरण भएको अनुभव गरिरहेका थियौँ हामी यात्राका साथीहरू ।

यात्राको सुरुआत

अँ त, हाम्रो त्यो यात्राको सुरुआत भएको थियो सुर्खेतको वीरेन्द्रनगरबाट । सबै राष्ट्र बैंकका अग्रज तथा अनुज साथीहरू डा.राजनकृष्ण पन्त, डा.माधव दङ्गाल, प्रह्लाद गिरी र विद्यामान महतारा, सुर्खेत कार्यालयका मौराती फोटोग्राफीका फोटोप्रिय भाइ पूर्णबहादुर मौराती नेपाली, समिर फुयाल, गाडीका सारथि भाइ र म गरी जम्मा ८ जना सहभागी थियौँ त्यस यात्राका सहयात्री हामीहरू । डोल्पामा जन्मिई हुर्कनुभएका र कर्णाली क्षेत्रको किरो भने पनि हुने फुर्तिला मित्र विद्यामानजीको सहभागिताले हाम्रो यात्रालाई सुगम, जानकारीमूलक तथा रोमाञ्चक बनाइरहेको थियो ।

उत्तरतिर रहेका टुप्पोमा छुन सकिने भान पार्ने महर्षि व्यासझैँ समाधिस्थ छायानाथ, साइपाल र काञ्जिरोवा हिमाल तथा दक्षिणतर्फबाट सुरक्षासमेत दिइरहेको चुचेमारा हिमालबाट आएको शितल पवनको स्पर्शले यात्राको तातोपनलाई सितलता प्रदान गरिरहेको थियो । रारा रानीको दर्शनका लागि तड्पिइरहेका हामी बेलाबेलामा गीत गाउने, नाच्ने तथा गफमा मस्तिइरहेका थियौँ सल्लेरीमा हामी । सारथि भाइ गाडीको व्यवस्थापनतिर लागिरहनुभएको थियो ।

रारासँग साक्षात्कार

२०७८ फागुन १५ गते बिहान १० बजे हामी पूर्व राजा महेन्द्रका शब्दमा अप्सराकै रूपमा चिर परिचित रारा तालको दर्शन गर्न पुग्यौँ । चारै दिशामा हिमालको संरक्षणमा रहेकी रारामा पुग्दा साँच्चिकै प्रकृतिले धर्तीलाई दिएका सर्वोच्च उपहार अनुभव भइरहेको थियो । राजाले त्यसै भनेका होइन रहेछन् धर्तीकी रारा कि अप्सरा भनेर ।

दर्शनीय, भ्रमणीय, विश्वकै लागि आकर्षक गन्तव्यको रूपमा रहेको रारारानीको काखमा लुटुपुटु गर्दै हामीले दक्षिणपूर्वी भागमा नै लगभग दुई घन्टा बितायौँ । सल्लेरीबाट हामी राराको जल स्पर्श गर्न पुग्दा हिलोको पर्वाह नगरी दगुरिरहेका थियौँ हामीहरू । हामीले त्यहाँ व्यक्तिगत, सामूहिक फोटो खिच्यौँ, जलस्पर्श ग¥यौँ र घोडा पनि चढ्यौँ ।

सल्लेरीमा घोडा चढिदिन आग्रह गरिरहेका स्थानीय घोडा व्यवसायीको आग्रहलाई तालमा पुगी घोडा चढेर सम्मान ग¥यौँ हामीले रारा किनारमा । सो क्षेत्रका जनताको व्यवसाय तथा आयआर्जनलाई भरथेग गर्नु पर्यटकको कर्तव्य पनि त हो ।

बाटोदेखि बाहेक रारा तालको प्राकृतिक स्वरूप बिग्रिइसकेको छैनअहिलेसम्म । तर निकट भविष्यमा अतिक्रमणमा नपर्ला भन्न सकिन्न । त्यस स्थलको सौन्दर्यको प्राकृतिक वरदानलाई चिर कालपर्यन्त संरक्षण गर्न दीर्घकालीन गुरुयोजना तयार गरिहाल्नुपर्ने स्थिति देखियो ।

हुन त यसैका लागि नेपाल सरकारले रारा राष्ट्रिय निकुञ्ज घोषणा गरी संरक्षणको प्रयास नगरिएको होइन । यसो भए पनि यातायातका साधनको निकटसम्मको पहुँचले सो क्षेत्रको सौन्दर्य नाश नगर्ला भन्न सकिन्न ।

रारा रानीको सुन्दरतालाई कुन शब्दमा वर्णन गरौँ । त्यहाँ एक किसिमको प्राकृतिक मादकता अनुभव हुन्थ्यो । सो मादकतालाई थप ऊर्जा प्रदान गरिरहेको थियो पूर्ण भाइको फोटोग्राफीले । वास्तवमा कुनै भ्रमणलाई चिरस्मरणीय बनाउने माध्यम पनि त फोटो नै त हो । उहाँको फोटोग्राफीले एलाइन्स फर फाइनान्सियल इन्क्लुजन (AFI) मा समेत स्थान पाइसकेको छ । उहाँको यो रुचि र पेसा उन्नतितिर लम्किइरहोस् शुभकामना ।

हामी प्रायः गरेर पूर्ण भाई, विद्या र समीर बाहेक नयाँ थियौँ रारा रानीका लागि । त्यहाँ धेरै समय अलमलिने र बास बस्ने कुनै योजना थिएन हाम्रो । डा.राजनकृष्ण पन्तका निकट मित्र राराताल स्थित आर्मी क्याम्पका प्रमुख हुनुहुँदो रहेछ ।

कुनै क्षेत्रमा पुगेपछि एक दुई दिन अलमलिएर सो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षको अवलोकन गनुर््पर्ने पनि हो । हामीलाई पनि डा. पन्तका मित्रवरको आतिथ्यले सो अवसर जुरायो । सबै साथीलाई सो सेवा उपलब्ध हुन नसके पनि बाँडिएर बस्यौँ हामी एक रातका लागि रारा रानीसाहेबको काखमा ।

होटल सेवामा एकाधिकार

राराको पश्चिम उत्तर किनारमा डाँफे रिसोर्ट सञ्चालनमा रहेछ । राष्ट्रिय निकुञ्जभित्र हुनाले सबैका लागि पहुँच नहुने भए पनि सो रिसोर्ट राजनैतिक पहुँचका भरमा एकाधिकार जमाएर बसेको रहेछ । त्यसैले त्यो महँगो छ, सेवाग्राहीका लागि वाध्यता छ । पश्चिमतर्फ रहेको नजिकैको माझघट्टमा होमस्टे त छ अरे तर केही पर भएकाले यात्रीहरू त्यता गइहाल्दा रैनछन् ।

वास्तवमा होमस्टेको बसोबास सो प्रकारको क्षेत्रका लागि अति उपयुक्त हुने चाहिँ हो । किनभने स्थानीय वासिन्दालाई केही आम्दानी पनि थपिने, स्थानीय सामाजिक सांस्कृतिक अवलोकन पनि हुने । प्राकृतिक स्वरूपमा विचलन पनि नआउने । यस कारणले सो क्षेत्रमा होम स्टे सञ्चालनलाई थप व्यावसायिक बनाउन पहल गर्नुपर्ने देखियो । तर राजनैतिक पहुँचका भरमा चलेको एकाधिकार तोड्ने कसको दैया ।

यात्रा परित्याग गरिएको मुर्मा टप

रारा पुगेपछि तालभन्दा करिब आठदस किलोमिटर उत्तर पश्चिमपट्टि रहेको मुर्मा टापु सो क्षेत्रको अर्को अग्लो स्थानमा रहेको दर्शनीय र भ्रमणीय स्थल रहेछ । पूर्ण र समिर भाइ त त्यहाँ जान भनेर कस्सिँदै हुनुहुन्थ्यो ।

जाने भए जाऊँ भनेर मैले पनि साथ दिने भएको थिएँ तर भोलिपल्ट बिहानै गमगढी बजारमा आर्थिक अनुसन्धान विभागको कार्यक्रम हुनाले मुर्मा जाँदा समय कसाकस र चापाचाप हुने भएकाले सो यात्रा परित्याग गरियो । सो समयलाई हामीद्वारा राराको पूरै नभए पनि आधाउधी हिँडाइमा उपयोग गरियो ।

छाप्रो शिवबाबाको दर्शन

तालको पश्चिम उत्तरमा शिवजीको सानो मन्दिरसहितको दर्शनीय स्थल रहेछ । सो क्षेत्रका बासिन्दाले मनोकामना पूरा गरिदिने देवताका रूपमा पूजा गर्ने गरेका भोलेबाबाको दर्शन पनि ग¥यौँ हामीले । बाह्य प्रकृति मात्र होइन आन्तरिक प्रकृतिको सत्यसँग समेत नाता जोड्ने अवसर मिल्यो । जय भोले बाबा ।

सोही मेसोमा वित्तीय संस्था सुपरिवेक्षण विभागको रारा पर्यटकीय टोली भेट भयो रारामा । कार्यकारी निर्देशक पिताम्बर भण्डारी, निर्देशक रमेश आचार्य, उप निर्देशक हरिष्चन्द्र ढकाल लगायतको टोली पनि नेपालगञ्जबाट गएको र उहाँहरूसँगको साक्षात्कारले सो यात्रालाई थप उमङ्गपूर्ण बनायो । तर उहाँहरू भने रारामा बस्नुभएन सायद गुठीज्यूला तिर झर्नुभयो क्यार ।

सरकारी साधनको दुरुपयोगको प्रतिमूर्ति भ्युटावर

सोही मन्दिरको दक्षिणपश्चिममा भ्यु टावर भनी बनाइएको रहेछ । पाँच तले सो टावरको तल स्थानीयले खच्चर बाँधेर उपयोग गरेका रहेछन् । एक व्यक्तिले बनाउँदा दुई करोड जतिचाहिँ त लाग्ने देखियो तर त्यसले कम्तीमा १० करोड उदरस्थ गरेको हुनुपर्छ भन्ने लख काटियो । भ्यु टावरभन्दा दुई किलोमिटर माथिसम्म पहाड हुँदा हुँदै सो टावर किन बनाइयो ।

न त कसैले त्यहाँ गएर कहीँको अतिरिक्त दृश्य देख्छ, न मान्छेको प्रवाह हुन्छ त्यहाँ । सरकारी सम्पत्ति दुरूपयोगको सर्वोच्च नमुनालाई हामीले दृश्यपान ग¥यौँ र चढ्यौँ पनि । आगामी दिनमा त्यस्ता अनावश्यक संरचना निर्माण गरेर सम्पत्तिको दुरूपयोग रोक्ने बुद्धि पलाओस् भन्ने कामनाका साथ हामी त्यहाँबाट रारातर्फ फर्कियौँ ।

आर्मी क्याम्पको बास र सिर्जनात्मक माहोल

निर्देशक डा. राजनकृष्ण पन्तको सम्पर्क तथा भक्तपुर निवासी क्याप्टेन साहेब आकाश विष्टको आतिथ्यमा एक रातका लागि हामी रारा स्थित श्री श्रीबक्स गुल्ममा बास बस्यौँ । बडो रमाइलो हुनुहुँदो रहेछ गुल्माधिपति । बेलुका हामी सिर्जनात्मक जमघटमा पनि रमायौँ । विदेशबाट आउनुभएका नेपालीहरू पनि हुनुहुन्थ्यो त्यो बासमा । उहाँहरूसहित रारारानीका विषयमा मैले तत्काल लेखेको देहायकको गीत पस्किँदा जमघटमा रहनुभएका कर्मचारी तथा अन्य अतिथि बडो रमाउनु भयो :

रारा रै’छन् हाम्री अनि धरतीकै रानी ।
ईश्वरले खन्याएछन् सौन्दर्यको खानी ।।

प्रकृतिको दूर बस्छिन् दर्शन पाउन गाह्रो ।
कति पिउनु सौन्दर्य यो छुट्न अभैm साह्रो ।।
आँउछन् प्रेमी तिम्रो छेउमा मायालुझैं ठानी ।
तिमीमा नै खन्याएछन् सौन्दर्यको खानी ।।

भावगङ्गा छचल्कियो हेर्दा वारिवारि ।
लाग्छ सधैँ हेरिरहुँ आँखा गाढी गाढी ।।
प्युन आउन् सौन्दर्य यो संसारले जानी ।
ईश्वरले खन्याएछन् सौन्दर्यको खानी ।।

रारा रै’छन् हाम्री अनि धरतीकै रानी ।
ईश्वरले खन्याएछन् सौन्दर्यको खानी ।।

यो गीत लगायतको सिर्जनात्मक माहोलले हाम्रो रारा बासलाई थप स्मरणीय बनाएको अनुभूति ग¥यौँ हामीले ।

दीर्घकालीन गुरुयोजनाको आवश्यकता

राराको संरक्षण, प्रवद्र्धन र सो क्षेत्रका जनताको दीगो आर्थिक अभिवृद्धिमा उपयोगसमेतका लागि दीर्घकालीन योजना पक्कै बनेको हुनुपर्छ । नेपालमा योजना बन्छन् तर कार्यान्वयनको क्रममा व्यक्ति हावी हुने र योजना नै फेल भएका उदाहरण धेरै छन् । राराको हकमा सो क्षेत्रको अपार प्राकृतिक स्रोत साधनको उपयोग पनि गर्नुपर्छ तर प्राकृतिक सौ्रन्दर्य र साधनमा कुनै पनि क्षति नपुग्ने गरी । लोठसल्ला, जटामसी, शिलाजित, निरमसी, चिराइतो लगायतका नजानेका कति अनमोल जडिबुटी कति होलान् सो क्षेत्रमा ।

त्यस प्रकारका क्षेत्रमा २/४ दिन बस्दा पनि जडिबुटीमिश्रित हावा, पानी, भोजन तथा वातावरणले प्राय रोगहरू निको हुन्छन् । राराको उत्तरतर्पm रहेको जङ्गलको जडीबुटी खेर गएको देख्दा नरमाइलो लाग्यो । स्थानीय राजनैतिक तथा प्रशासनिक पदाधिकारीले यसतर्फ नीति बनाउनुपर्ने अनुभव गरियो ।

रारालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको गन्तव्य बनाउनका लागि वरिवरिको कम्तीमा सात किलोमिटरक्षेत्रमा यातायातको पहुँच निषेध गर्नुपर्ने पनि अनुभव भयो । यसले पर्यटकको बाटोमा पर्ने स्थानीयको आर्थिक आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्दछ भने तालको प्राकृतिक स्वरूप संरक्षण गर्न पनि सहयोग पुग्दछ । चारैतिर हिमालवेष्टितराराताल नेपालको मात्र नभएर विश्वकै सम्पदा हो । प्रकृतिप्रदत्त यस प्रकारका वरदान साबित स्थलहरूको क्षयीकरण केवल नेपालको मात्र होइन विश्वकै लागि नोक्सान हो भन्ने हामीले बेलैमा बुझ्नुपर्दछ ।

२०७८ चैत १५ गतेका दिन करिव रारा रानीसाहेवको काखमा लुटुपुटु गर्दै एक रात बिताएर हामी सुरक्षा कर्मचारीको सहुलियतपूर्ण जलयात्रामा रमाउँदै १६ गते बिहान मुगुको ताल्चा विमानस्थल तथा सदरमुकाम गमगढीतर्फ अगाडि बढ्यौँ । रारा तालसँगको सान्निध्य छोड्न कसलाई पो मन थियो होला र तापनि हामीले आफ्नाे दैनिकी नसह्मालि पनि त भएन । मनोरञ्जनले मात्र त जीवन चल्दैन नि ।

र अन्त्यमा,

नेपालको पश्चिमोत्तर कुनामा रहेको सबैका लागि पहुँचको अवसर न्यून रहेको प्रकृतिकी रानी राराको दुर्लभ भ्रमण जु¥यो मेरालागि यस पालि । जुम्लाको खलङ्गास्थित चन्दन्नाथ मा.वि.मा वित्तीय साक्षरतका कार्यक्रममा वार्ता प्रस्तुत गर्न सुर्खेत कार्यालयको निमन्त्रणाले मलाई यो सुवर्ण अवसर जुराएको हो । यसका लागि नेपाल राष्ट्र बैंक सुर्खेतलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।

कार्यालय प्रमुख विनय सिग्देल जुम्लासम्म जानुभए पनि रारायात्रामा उहाँ सहभागी हुन सम्भव भएन । उहाँ पनि यात्रामा सहभागी हुनुभएको भए अझ सुनमा सुगन्ध हुने कुरामा दुई मत थिएन तर पनि विद्वान् व्यक्तित्वहरू डा. पन्त, डा. दङ्गालको शालीनता, पूर्णजीको फोटोकारिता, विद्यामानजीको हिमाली क्षेत्रको ज्ञान र साक्षात्कारले सो यात्रा अविस्मरणीय बन्न पुगेको हो ।