Dhulikhel Eco Banner new

काभ्रेको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द

3.17K
shares

काठमाडौं, २३ फागुन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराइएको छ । नगरको वडा नं २ र १२ मा नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।

पनौती नगरपालिका नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भू(गर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भएको र पटकपटक ताकेता गर्दा समेत बिना इजाजत सञ्चालन गरेको पाईएको हुँदा शुक्रवार ती उद्योगहरुमा अनुगमन गरी बन्द गरिएको बताएका छन् ।

उनका अनुसार वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रा.लि., वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. लाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ ।

उनले खानी तथा भू-गर्भ विभागबाट जारी भएको उत्खनन् अविध समाप्त भइसकेकोले उक्त क्रसर तथा खानीलाई बन्द गर्न पटक-पटक ताकेता गर्दा समेत सञ्चालन भईरहेकोले बिना इजाजत सञ्चालन गरेको देखिएकाले ती उद्योगहरुलाई बन्द गरिएको बताए ।

पनौती नगरपालिकामा ११ वटा खानी तथा क्रसर उद्योग सञ्चालनमा रहेकोमा ३ वटा बन्द भएपछि अब ७ वटा कानूनी रुपमा सञ्चालनमा रहेको भन्दै सञ्चालनमा रहेका उद्योगहरुको क्रमशः२,३,४ र ५ वर्ष अवधिको अनुमति रहेकोमा यिनीहरुको नविकरण अवधि सकिएपछि पनौति नगरपालिका भित्र क्रसर खानी उद्योगहरुलाई पूर्ण रुपमा बन्द गराउने पक्षमा रहेको उनको भनाई छ ।

रोशी खोला र पनौति बजार वि.सं. २०२८ सालमा नै संरक्षित क्षेत्र घोषणा भईसकेकोले संरक्षित क्षेत्रको बचाउ अभियानमा लागेर यहाँ सञ्चालित सबै क्रसर उद्योग बन्द गराई पनौतीलाई पर्यटकीय नगरको रुपमा स्थापित गरेर लैजाने धारण रहेको भन्दै उनले स्पष्ट पारे ।

उनले काभ्रे एकिकृत खानेपानी योजना अन्तर्गत पनौती, बनेपा र धुलिखेल शहरलाई खानेपानी पुर्‍याई खानेपानीको हाहाकारको अन्त्य गर्ने पक्षमा आफू रहेको भन्दै अब सञ्चालनमा रहेको उद्योगको नविकरणको म्याद सकिएपछि यहाँ क्रसर उद्योग खोल्न नदिने पक्षमा आफू रहेको समेत स्पष्ट पारे ।

पनौती नगपालिकाका उप-प्रमुख गिता बन्जाराले भने नविकरण नभएका ३ उद्योग बन्द भएको हो तर ति उद्योगहरु नविकरणको प्रकियामा रहेकाले नविकरण पश्चात तत्काल सञ्चालनमा आउने बताए । उनले उद्योग धन्दा बन्द गरेर देशको विकास सम्भव नहुने भन्दै देश विकासको लागि यस्ता उद्योग धन्दा विधि, प्रकृया र कानूनी बाटोहरु पुरा गरेर सञ्चालनमा ल्याईनु पर्दछ र अनिमात्र पनौतीको उज्वल भविष्य र विकास सम्भव भएको उनले स्पष्ट पारे ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खड्कीले पनौती नगरपालिकाले आफ्नो क्षेत्र भित्रका बिना ईजाजत तथा नविकरण नगरी सञ्चालन गरिएका क्रसर उद्योग बन्द गराउने क्रममा कुनै अप्रिय घटना नघटोस् भनेर सुरक्षा व्यवस्था मिलाउन खटिएको र नगरपालिकाले आफ्नो कार्यपालिकाको निर्णय अनुसार क्रसर उद्योग बन्द गराएको कुरामा सत्यता रहेको जानकारी दिए ।