Dhulikhel Eco Banner new

दार्चुलामा बन्ने भयो २८.३ मेगावाटको मध्य चमेलिया आयोजना, लगानी ६ अर्ब २३ करोड

377
shares

काठमाडौं, १२ साउन । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित चमेलिया नदीमा २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको आयोजना दार्चुलाको मार्मा गाउँपालिका अन्तर्गत अपी नाम्पा संरक्षण क्षेत्रभित्र निर्माण हुनेछ।

नदी प्रवाहमा आधारित यस आयोजनाले २०८१ चैत १३ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ। आयोजनाको डिजाइन परिवर्तन तथा संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको अध्ययन गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो।

यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको थियो भने २०८२ पुस २१ गते पूरक ईआईए अध्ययनका लागि सहमति दिइएको थियो।

नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०८० असोज २९ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो। आयोजनाको वित्तीय व्यवस्थापन पनि २०८२ जेठ २१ गते सम्पन्न भइसकेको छ।

आयोजनाबाट उत्पादित विद्युत् बलाच सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। वार्षिक १८५.६२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१० गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ।

गोकुलेश्वरबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको आयोजनाको माथिल्लो तटमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना र तल्लो तटमा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा छन्।

आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसको अनुमानित लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहेको छ।