Dhulikhel Eco Banner new

११ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब बढी शुल्क

१७ कम्पनीको संकलन अर्ब माथि

5.08K
shares

काठमाडौं, १६ असार । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ३४ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले दिएको तथ्यांक अनुसार २० वटा बीमा कम्पनीले जेठमासान्तसम्म ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १७ वटाले अर्ब भन्दा माथिको व्यवसाय गरेका छन् । बाँकी रहका तीन वटा कम्पनीको भने व्यवसाय करोडमै सिमित रहेको छ । २० बीमा कम्पनीमध्ये नेशनल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको व्यवसाय करोडमै सिमित भएको रहेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमालेख जारी गरेर ३४ अर्बभन्दा धेरै रकम संकलन गरेको समितिले जनाएको छ । जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा कुल २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी जारी गरेको तथ्यांकले देखाएको छ ।

३४ अर्बमध्ये निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै करीब ३ अर्ब रूपैयाँको व्यवसाय गरेका छन् । २० कम्पनीले जेठ महिनामा २ अर्ब ९६ करोड १६ लाख ९८ हजारको बीमा शूल्क संकलन गरेका छन् । जेठ महिनामा कम्पनीहरूले १ लाख ६७ हजार १० वटा बीमालेख जारी गरेको देखिएको छ ।

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यो अवधिमा ४ अर्ब ४० करोड ६३ लाख बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

समितिको तथ्यांअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख, हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख, प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख बीमा शुल्क संकलन गर्दा एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

अर्ब क्लबमा पुग्न नसकेका जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख, सानिमा जनरलले ९० करोड ६८ लाख र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।