‘पछिल्लो ५ वर्षमा बीमामा निकै प्रगति भएको छ’
वि.सं.२०७९ जेठ २५ बुधवार ०७:३०
shares

काठमाडौं, २४ जेठ । नेपालमा बीमा क्षेत्रको इतिहास ७ दशक लामो भएपनि अपेक्षित रुपमा विकास हुन सकेको छैन । जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बीमक संघका अध्यक्ष निर्मल काजी क्षेष्ठ पछिल्लो ५÷७ वर्षमा भने बीमामा धेरै सुधार आएको बताउँछन् ।
मेट लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठले बीमा समितिले ल्याएको पुँजी वृद्धिको योजनाको पनि प्रशंसा गरेका छन् । बीमा समितिको यो योजनाले कम्पनीहरुलाई थप वलियो बनाउने उनले बताए । प्रस्तुत छ, बीमा क्षेत्रको समसामायिक विषयमा उनै श्रेष्ठसँग केटिएम भ्वाइसका लागि युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंशः
अहिले समग्र बीमा व्यवसायको अवस्था के छ ? संक्षिप्तमा बताइदिनुस न्
बीमा व्यवसायको समग्र अवस्था हेर्ने भने त अर्थतन्त्रमा जुन आर्थिक अभाव रहेको त्यसले बीमा क्षेत्रमा पनि असर पारेको छ । कोरोनका कारण लामो समय अर्थतन्त्र अस्तव्यस्त रह्यो । अर्थतन्त्रका अन्य क्षेत्रहरुमा असर गर्दा बीमा क्षेत्रमा पनि केही असर पक्कै गरेको छ । तर, पनि सामान्य रुपमा भने बीमा व्यवसाय राम्रै रहेको छ ।
भूकम्पपछि धेरै मानिसमा बीमा चेतना बढेको पाइएको थियो । कोरोनाका कारण बीमा क्षेत्रमा परेको जस्तो देखिएन होइन ?
कोरोनापछि त्यस्तो सकारात्मक प्रभाव परेको देखिदैन । २०७२ सालमा भूकम्प गएपछि धेरैमा बीमा भनेको आवश्यक कुरा हो भन्ने जस्तो बुझिएको थियो । तर अहिले कोरोनाका कारण खासै सकारात्मक असर गरेको जस्तो देखिदैन ।
नेपालमा बीमाको इतिहास ७ दशक लामो भए पनि बीमाको पहुँच अपेक्षित बढ्न सकेको छैन । बीमाको पहुँचको अवस्थालाई कसरी लिनुुहुुन्छ ?
पहिलेको भन्दा पनि यो ५ वर्षयताको समयलाई हेर्ने हो भने बीमाको क्षेत्रको वृद्धि राम्रोसँग भएको छ । इन्स्योरेन्सको रेकर्ड हेर्ने हो भने पनि ग्राहक पनि ३७ प्रतिशतले बढेको छ ।
अझै पनि ६३ प्रतिशतलाई निरन्तर रुपमा बीमा क्षेत्रमा ल्याउने काम गर्ने छौ । यो रेकर्ड हेर्दा तुलनात्मक तरिकाले हेर्दा पनि हामी अरु देशहरुभन्दा अगाडि छौं जस्तो लाग्छ । त्यसैले हाल ५–७ वर्षको रेकर्ड हेर्दा खेरी राम्रोसँग वृद्धि भईरहेको छ ।
बीमा कम्पनी थप गर्ने बिषयहरु पनि आइरहेका छन् । नयाँ कम्पनी थप गर्न आवश्यक छ ?
जहाँसम्म मलाई लाग्छ, बीमा समितिले अहिले तत्काल अरु नयाँ कम्पनी थप्ने कुनै उद्देश्य छैन् । यो विषयलाई अगाडि बढाएको छैन् । भएका कम्पनीहरुलाई पनि मर्जर गरेर अगाडि बढाएको छ । थप गर्ने निति छैन भन्ने देखिन्छ ।
पुँजी वृद्धिको योजनाले समग्र बीमा क्षेत्रमा कस्तो असर गर्ला ?
जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब पुँजी पुर्याउन समितिले निर्देशन दिएको अवस्था छ । पुँजी वृद्धिको योजनाले सकारात्मक बाटोतिर नै लैजान्छ जस्तो लाग्छ । यस्तो योजनाले कम्पनीलाई अझ वलियो बनाउछ । कम्पनीमा निरन्तर काम गर्ने र क्षमताअनुुसार अगाडि बढ्ने बानीको विकास हुुन्छ ।
अन्तमा, समग्र बीमा क्षेत्रका विषयमा केही भन्नु हुन्छ कि ’
अहिले बीमा क्षेत्रहरु जुन अप्टिमिष्टिक वे (Optimistic way) बाट अगाडि बढिरहेको छन् । अहिलेको बजेटबाट पनि थाहा हुुन्छ की बीमा क्षेत्रलाई राज्यले पनि प्राथमिकतामा राखेको छ ।
बीमा क्षेत्रको लामो संघर्षपछि अहिले अगाडि बढेको छ । राज्यले पनि प्राथमिकतामा राखेपछि यो क्षेत्र अवश्य पनि अगाडि बढ्छ । बीमा क्षेत्रमा भएका अप्ठ्याराहरुलाई चिर्दै अझ अगाडि बढ्नेछ ।
बीमा कम्पनीहरुले पनि अझै राम्रा सेवा सुविधाहरु उपलब्ध गराउनेछन् । बीमा सबैले अनिवार्य रुपमा गनुपर्छ । यसबाट हामी सुरक्षित रहन्छौ ।



















