Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकले अनलाइनमार्फत कर्पोरेट खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्यायो

533
shares

काठमाडौं, ४ भदौ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार यो सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।

ग्राहकको समय तथा प्रक्रियागत झन्झटलाई न्यून गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अघि बढाउन सकिनेछ।

यद्यपि, खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफूलाई पायक पर्ने सिद्धार्थ बैंकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।

बैंकले यस सेवामार्फत व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यस सेवाका सम्बन्धमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।