Dhulikhel Eco Banner new

नेपाल टेलिकमको खुद नाफा १७ प्रतिशतले बढ्यो

5.01K
shares

काठमाडौं, ३० साउन । नेपाल टेलिकमले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो । नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।