उल्टो कर नितीले व्यवसायी मारमा , फूटपाथ पनि चाहिन्छ : नीलप्रसाद घिमिरे
वि.सं.२०८० असोज १४ आइतवार १४:०३
shares

काठमाडौं, १४ असोज । चर्को स्वरमा हर्न बजाउँदै हुइकिने सवारी साधनको चाप । दायाँ बायाँ फुटपाथ ढाकेर बसेका दोकानदार । गाडीको आवत जावतसंगै सडकमा उड्ने धुलो । कोटेश्वर क्षेत्रमा सटरमा व्यापार गर्नेहरुले हैरानी महसुस् गरे ।
१८ वर्ष अघिको प्रसंग सम्झदै कोटेश्वर व्यवसायी संघका उपाध्यक्ष नीलप्रसाद घिमिरे भन्छन् ‘व्यवसायीबिच छलफल गरेर संस्था खोल्यौं ।’ १६ औं साधारणसभा गरिसकेको उक्त संस्था अच्युत लामिछानेको अध्यक्षतामा स्थापना भएको थियो । घिमिरे संस्थापक मध्येका एक हुन् ।
व्यापार व्यवसायसंग कोटेश्वर क्षेत्रलाई नजिकबाट नियालेका घिमिरे संस्थाले व्यवसायीका हक हितका लागि काम गरिरहेको बताउँछन् । अहिले कोटेश्वर क्षेत्रमा व्यवसायिक सटर मात्रै बढेको छैन सदस्य संख्या पनि बढेको छ । एकहजार त अहिले संघमै आबद्ध भएका छन् ।
सक्रिय र व्यवसायीका हकहितमा काम गर्ने संस्थाको रुपमा परिचित छ कोटेश्वर व्यवसायी संघ । कुनै बेला बसोबास क्षेत्र मानिने कोटेश्वर अहिले व्यापारिक क्षेत्र बनेको छ । बाहिरी सडकमा बनेका घरमा मात्रै हैन भित्री सडक (गल्लिभित्र)का सटरमा समेत दोकान खुलेका छन् । ‘बसोवासयुक्त क्षेत्रमा व्यवसायिक भएपछि अलि समस्या हुँदो रहेछ ।’ उनले भने ।
स्वभाविक हो । सटरमा दोकान थापेपछि घरबेटीको अपेक्षासंगै भाडा पनि बढ्यो । व्यवसायीबिचको प्रतिस्पर्धासंगै पसल, कबलहरु पनि थपिँदै गयो । समस्या प¥यो पार्किङको । घिमिरे भन्छन् ‘अहिले महानगरपालिकाले जताततै पार्किङ गर्न निषेध गरेको छ । पहिला पनि समस्या थियो ।’ मान्छे बस्नका लागि बनेका घरमा पसल खुलेपछि पार्किङ अभाव स्वभाविक थियो पनि ।
किचलो मिलाउनेदेखी नगरपालिका धाउनेसम्म
संघका पदाधिकारीलाई लगभग आफ्नो काम गर्ने फूर्सद छैन । बाहिरबाट आएका र स्थानिय समाजकाबिचमा सम्बन्ध सुमधुर बनाउनका लागि भुमिका खेलेर मात्रै पुग्दैन । थरि थरिका समस्या थपिँदै जान्छ । कतिपय ठाउँमा दोकानदार र घरबेटीबिच असमझदारी होला त कतिपय समस्या राज्यसंगै जोडिएको हुन्छ । समस्या समधान गर्नका लागि वडादेखी नगरपालिका धाउने काम संघकै पदाधिकारीले गर्दै आएका छन् ।
बेरोजगारलाई जागिर
यस क्षेत्रमा रहेका शैक्षिक संस्थासंग समन्वय गरेर संघले नयाँ काम गर्दै छ । व्यवसायीका छोरा छोरीलाई यस क्षेत्रमा सञ्चालित शैक्षिक संस्थामा विशेष छुटमा पढाउनका लागि पहल गरिरहेको संघले अर्को महत्वपूर्ण काम गरेको छ । कोटेश्वर क्याम्पससंग समन्वय गरेर उक्त क्याम्पस पढेका जोसुकैलाई क्षमता अनुरुप रोजगार दिने काम संघले गरेको छ । ‘क्याम्पसले गरेको सिफारिसका आधारमा हामी कोटेश्वर क्याम्पस पढेको बेरोजगार विद्यार्थीलाई जागिर दिने योजनामा छौं ।’ घिमिरेले भने ।
उत्साह छैन दशैंमा
दशैं आउन दुई साता बाँकी हुँदा पनि व्यवसायीमा खास उत्साह छैन । घिमिरेलाई लाग्छ व्यवसायी मात्रै हैन । सर्वसाधारणलाई पनि कुनै उत्साह छैन । ‘दैनिक उपभोग्य वस्तु यति महंगो छ । यसले आम मान्छेको उत्साह नै मारेको छ ।’ महंगीको मारमा सर्वसाधारण परेको कुरा गरे ।
यस क्षेत्रमा पनि व्यवसायीका दुःख भूकम्पबाटै सुरु भएको हो । ०७२ सालमा आएको विनाशकारी भूकम्पपछि तनाबमा रहेका व्यवसायीलाई लकडाउनले अर्को तनाब थप्यो । लकडाउन खुलेपछि आर्थिक गतिविध ी होला भनेर बसेकाहरुलाई अहिलेको आर्थिक संकटले पिरोलेको छ ।
आर्थिक मन्दी आएपछि भाडा नघटेकोमा व्यवसायी थप चिन्तित भएको धारणा राख्छन् घिमिरे । ‘आर्थिक मन्दी छ तर, भाडा घटेको छैन । भाडा तिर्न नसकेकै कारण घरबेटीले ताला लगाइदिएको घटना पनि छ ।’ उनले भने ।
भाडामा लिने र दिने विषयमा स्पष्ट कानुन अभाव भएकाले व्यवसायी मारमा परेको उनको भनाई छ ।
८० प्रतिशत विस्थापित हुने खतरा
बिसौं वर्षदेखी व्यापार व्यवसाय गरेर बसेकाहरु अहिले भन्न थालेका छन् ‘विदेश नगएर गल्ती गरिएछ ।’ उनीसंग संगत गरेका कतिपय व्यवसायी यस्ता पनि छन् । हाकाहाकी भन्न थालेका छन् ‘भिसा लाग्ने हो भने यो सबै छाडेर विदेश जान्थेँ ।’
उनको बुझाई अहिले व्यवसायबाट रिकभर हुन्छ भन्ने कन्फिडेन्स व्यवसायीमा छैन । यदि राज्यले नयाँ प्याकेज ल्याएन भने आउदो पुस मसान्तसम्म ८० प्रतिशत व्यवसायी विस्थापित हुने ठोकुवा गर्छन् ।
उल्टो कर निती
तीन तहको सरकार बनेसंगै व्यवसायी थप मारमा परेको उनको बुझाई छ । अन्य विकसित मुलुकको उदहारण दिँदै उनी भन्छन् ‘अन्य मुलुकमा व्यवसायीले जब कमाउन सुरु गर्छ अनि कर लिन्छन् । तर, हाम्रोमा व्यवसाय गरेकै दिन कर तिर्नुपर्छ ।’ राज्यको कर निती अव्यवहारिक भएको कुरा गरे ।
फूटपाथ चाहिन्छ
सटरमा दोकान राख्ने व्यवसायीहरु महानगरपालिकाले फूटपाथ हटाएकोमा दंग छन् । अन्य मुलुकका उदहारण दिँदै घिमिरे भन्छन् ‘फुटपाथ हटाउने होइन व्यवस्थित गरिनुपर्छ । फूटपाथ नभएको मुलुक संसारमै छैन ।’ फूटपाथका लागि निश्चित ठाउँ र समय तोक्ने हो भने बजार व्यवस्थित हुने उनको बुझाई छ ।
तस्विर : उज्वल पाैडेल



















