कपडा धुने मेसिनबाट राजनको दैनिक १० हजार आम्दानी
वि.सं.२०८२ पुस २७ आइतवार १७:०८
shares

काठमाडौं, २७ पुस । बेनी नगरपालिका ७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मनग्य आम्दानी गर्दै आएका छन्। उनले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक रु १० हजार बढी कमाइ गर्दै आएका हुन् ।
वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट विदेशमा भन्दा बढी कमाउन सकिने र आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश उनले दिएको स्थानीय शेरबहादुर खड्काले बताए । अध्ययनसँगै व्यवसायलाई अघि बढाउँदै राजनले बेनी र बागलुङमा गरी दुई स्थानमा ‘क्लिन लन्ड्री’ सञ्चालन गरी दैनिक रु १० हजारसम्म आम्दानी गरिरहेको उनले जानकारी दिए ।
आफ्नै घरबाट सुरु गरिएको बेनी क्लिन लन्ड्रीलाई व्यवस्थित बनाउँदै पौडेलले बागलुङ बजारमासमेत सेवा विस्तार गरेका हुन् । आधुनिक मेसिन प्रयोग गरी लुगा धुने, सुकाउने र प्रेस गर्ने सेवा प्रदान गर्दै आएको उक्त लन्ड्रीले छोटो समयमा बजारम पहिचान बनाएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह (बिए) दोस्रो वर्षमा अध्ययनरत पौडेलका अनुसार विद्युत्, सर्फ, पानी, भाँडा, मर्मत तथा अन्य सबै खर्च कटाएर पनि दैनिक रु पाँच हजारभन्दा बढी बचत हुने गरेको छ ।



















