निर्वाचनमा पाउने चन्दा र सहयोग अब बैंक खातामार्फत अनिवार्य
वि.सं.२०८२ माघ २१ बुधवार १७:२९
shares

काठमाडौं, २१ माघ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नयाँ कार्यविधि लागू गरेको छ। कार्यविधिले निर्वाचनका बेला प्राप्त हुने सबै प्रकारका आर्थिक सहयोग बैंक खातामार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।
आयोगका अनुसार उम्मेदवार वा राजनीतिक दलले नगद वा चेकमार्फत रकम पाए पनि सिधै खर्च गर्न पाउने छैनन्। प्राप्त भएको रकम अनिवार्य रूपमा बैंक खातामा जम्मा गरेपछि मात्र खर्च गर्नुपर्नेछ।
कार्यविधिको दफा ६९२० मा २५ हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग लिने उम्मेदवारले सो रकम सिधै बैंक खातामार्फत लिनुपर्ने व्यवस्था छ। नयाँ व्यवस्थाले २५ हजार रुपैयाँभन्दा कम रकमसमेत खातामा राखेर मात्रै खर्च गर्नुपर्ने बाध्यता थपेको छ।
सरकारी बजेट परिचालन हुने स्थान वा कार्यक्रमबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरिएको छ। त्यसैगरी, पब्लिक कम्पनीबाट सहयोग लिन तथा विदेशी सरकार, संस्था वा व्यक्तिबाट चन्दा स्वीकार गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम, ठेगाना र रकमको विवरण उम्मेदवारले अभिलेखमा राख्नुपर्ने प्रावधान पनि कार्यविधिमा समेटिएको छ।
निर्वाचन आयोगले पैसाको प्रभाव घटाई स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न यो व्यवस्था ल्याइएको जनाएको छ।



















