सांसद् बन्ने भएपछि लीमा अधिकारीद्वारा निफ्रा बैंकबाट राजीनामा
वि.सं.२०८२ चैत ३ मंगलवार १०:५७
shares

काठमाडौं, ३ चैत । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने भएपछि अधिकारीले सोमबार निफ्राबाट बिदा लिएकी हुन् । अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् ।
साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन् । अधिकारीले आगामी दिनमा नेपालको पुर्वाधार विकासमा देखिएका अवरोधहरुको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छन् ।
‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो’ अधिकारीले भनेका छन् ।
आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी बैंक सफल हुने भित्र्याउन सफल हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको विश्वास छ ।


















