Dhulikhel Eco Banner new

ठूला खेलाडीमाथि कारबाहीको प्रभाव, नेप्से निर्णायक मोडमा: आज बजार कता जाला ?

प्राविधिक रूपमा बजार अझै कमजोर

2.31K
shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नयाँ साताको पहिलो कारोबार दिन प्रवेश गर्दा बजार अत्यन्त संवेदनशील मोडमा पुगेको देखिएको छ। एकातिर ठूला खेलाडीमाथि भइरहेको कारबाहीले बजारको संरचनामा परिवर्तन ल्याएको छ भने अर्कोतर्फ प्राविधिक रूपमा बजार अझै कमजोर र अनिश्चित अवस्थामा रहेको संकेतहरू देखिएका छन्।

पछिल्ला दिनहरूमा शेयर बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका ठूला व्यक्तिहरूमाथि धमाधम अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढिरहेको छ। पूर्वऊर्जामन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर अग्रवाल र सुलभ अग्रवाल जस्ता व्यवसायी पक्राउ परेका छन् ।  यस्ता ठूला खेलाडी बजारबाट बाहिरिँदा ठूलो परिमाणको शेयर सप्लाइ तत्कालका लागि घटेको भन्दै केही विश्लेषकहरूले यसलाई बजारका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।

तर बजारमा अर्को धारणा पनि उत्तिकै बलियो रूपमा देखिएको छ। ठूला खेलाडीमाथिको कारबाहीले लगानीकर्तामा त्रास फैलिएको छ, जसले बजारमा नयाँ लगानी प्रवेश गर्ने गति घटाएको छ। एक ब्रोकरका अनुसार केही ब्रोकर हाउसहरू समेत आर्थिक संकटमा पर्ने जोखिम देखिएको छ। त्यस्तै, केही ठूला बिचौलियाहरूले आफ्नो सम्पत्तिभन्दा बढी कर्जा लिएको र ती कर्जा तिर्न नसक्ने अवस्था आउँदा बैंकिङ प्रणालीमै दबाब सिर्जना हुन सक्ने आँकलन गरिएको छ।

यस्तो पृष्ठभूमिमा नेप्से परिसूचक गत साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अंकले घटेर २७८२.१८ विन्दुमा बन्द भएको थियो। अघिल्लो साता २९५०.१६ विन्दुमा रहेको बजार निरन्तर दबाबमा रहँदै तल झरेको देखिन्छ। पाँच कारोबार दिनमध्ये ३ दिन सामान्य सुधार भए पनि २ दिनको तीव्र गिरावटले समग्र बजारलाई कमजोर बनाएको हो।

प्राविधिक विश्लेषणतर्फ हेर्दा दैनिक चार्टमा नेप्से २७८८ विन्दुको महत्वपूर्ण अवरोध क्षेत्रमा अडिएको छ। यसअघि यही क्षेत्रमा बजारले ‘क्यारेक्टर परिवर्तन’ संकेत दिएको भए पनि हालको क्यान्डल संरचनाले माथिल्लो क्षेत्रमा बलियो बिक्री दबाब रहेको स्पष्ट देखाउँछ। माथिल्लो भागमा बनेको लामो छायाँले बजार २९००–२९६० विन्दुसम्म जान खोज्दा त्यहाँबाट आपूर्ति आएको पुष्टि गर्छ।

पछिल्लो क्यान्डल संरचनाले पुनः बजारमा कमजोरी देखाएको छ। विशेषगरी ‘नकारात्मक क्यारेक्टर परिवर्तन’ देखिनुले बजार पुनः करेक्सनतर्फ जाने सम्भावना बलियो बनेको छ। अब २७८८ विन्दु नै बजारको मुख्य ‘निर्णायक स्तर’ बनेको छ।

यदि बजार आज र आगामी दिनहरूमा २७८८ विन्दुभन्दा माथि टिक्न सफल भयो भने २९११ हुँदै २९६९ विन्दुसम्म उकालो यात्रा हुन सक्ने सम्भावना देखिन्छ। तर यो स्तर जोगिन नसकेमा बजार पुनः २६०८ विन्दुसम्म झर्ने जोखिम उच्च देखिन्छ। थप दबाब बढेमा २५६८ र २५३० विन्दुसम्म पनि बजार झर्न सक्ने प्राविधिक संकेतहरू देखिएका छन्।

कारोबारका आधारमा पनि बजारमा कमजोरी स्पष्ट देखिएको छ। गत साता दैनिक औसत कारोबार रकम १६ अर्ब ४९ करोड रुपैयाँबाट घटेर करिब १२ अर्ब रुपैयाँमा झरेको छ, जुन २७ प्रतिशतभन्दा बढी गिरावट हो। कारोबार संख्या र शेयर संख्या दुवै घट्नुले बजारमा खरिदकर्ताको सक्रियता कमजोर भएको देखाउँछ। यसले बजार अहिले ‘डिस्ट्रिब्युसन फेज’ मा रहेको संकेत गर्छ।

उपसमूहगत रूपमा पनि बजार व्यापक रूपमा प्रभावित भएको छ। १३ मध्ये १२ उपसमूह घटेका छन् भने उत्पादन तथा प्रशोधन समूह मात्र सामान्य रूपमा बढेको छ। ‘अन्य’ उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ भने जीवन बीमा समूह अंकका आधारमा सबैभन्दा धेरै घटेको छ।

विक्ली चार्ट विश्लेषण गर्दा बजार अझै २६०० देखि ३००० विन्दुको दायराभित्र सीमित रहेको देखिन्छ। पछिल्लो साप्ताहिक क्यान्डल नकारात्मक देखिनुले माथिल्लो क्षेत्रमा निरन्तर बिक्री दबाब रहेको पुष्टि गर्छ। यसले दीर्घकालीन रूपमा बजार अझै स्पष्ट रूपमा बुलिस ट्रेन्डमा प्रवेश नगरेको संकेत दिन्छ।

हालको अवस्थालाई हेर्दा बजार दुई दिशामध्ये कुनै एकतर्फ निर्णायक रूपमा अघि बढ्न सक्ने अवस्थामा छ। यदि बजारले सुरुवातदेखि नै २७८८ विन्दु माथि बलियो होल्ड गर्न सक्यो भने छोटो अवधिमा सकारात्मक माहोल बन्न सक्नेछ र बजार माथिल्लो लक्ष्यतर्फ उक्लन सक्छ। तर सुरुवातमै दबाब आएर यो स्तर तल झरेमा पुनः बिक्री बढ्दै बजार तलको सपोर्ट जोनतर्फ झर्ने सम्भावना उच्च रहनेछ।

समग्रमा, बजार अहिले ‘भावना’ र ‘विश्वास’ को द्वन्द्वमा फसेको देखिन्छ—एकातिर ठूला खेलाडी हट्दा बजार सफा हुने अपेक्षा, अर्कोतर्फ त्यसले ल्याएको डर र अनिश्चितता। यस्तो अवस्थामा लगानीकर्ताले हतार नगरी स्पष्ट संकेत (confirmation) कुर्नु नै बुद्धिमानी हुने देखिन्छ।

(लेखक : दिपेश घिमिरे आर्थिक पत्रकार हुन् ।)