Dhulikhel Eco Banner new

स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

2.91K
shares

बलियो रक्षात्मक खेल देखाउँदै स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराएर फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको डलास स्टेडियममा मंगलबार राति भएको सेमिफाइनलमा स्पेनका मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे। यो जितसँगै स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको फाइनलसम्म पुगेको हो।

खेलको २२औँ मिनेटमा लामिन यामाललाई पेनाल्टी क्षेत्रभित्र फ्रान्सका लुकास डिग्नेले फाउल गरेपछि स्पेनले पेनाल्टी पायो। सो अवसरलाई ओयारजाबालले गोलमा बदल्दै टोलीलाई अग्रता दिलाए। यो प्रतियोगितामा उनको यो पाँचौँ गोल हो।

दोस्रो हाफको ५८औँ मिनेटमा दानी ओल्मोसँगको सहकार्यमा पेड्रो पोरोले अर्को गोल थपेर स्पेनलाई २–० को सुरक्षित अग्रतामा पुर्‍याए।

पछाडि परेको फ्रान्सले किलियन एमबाप्पेको नेतृत्वमा फर्कने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्तिका अगाडि उनीहरूका आक्रमण निष्प्रभावी बने। सम्पूर्ण प्रतियोगितामा स्पेनले सात खेलमा एउटा मात्र गोल खाएको छ।

अब स्पेनले जुलाई १९ मा हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल विजेतासँग भिड्नेछ। हारेको फ्रान्सले भने तेस्रो स्थानका लागि खेल्नुपर्नेछ।