रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
वि.सं.२०८३ भदौ ३ बुधवार १०:१६
shares

काठमाडौं, ३ भदौ । दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बङ्गलाचुलीका दिवाकर खत्री र सोही स्थानका खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा एक ट्याक्टरमा डिएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । ट्याक्टरसँगै ५३ बोरा डिएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो । किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा उनीहरूले बङ्गलाचुली गाउँपालिका–५ स्थित सहकारीका लागि गत साउन २८ गते १३० बोरा डिएपी र १८० बोरा युरिया मल खरिद गरेको देखिएको छ ।
सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानुनी कारबाही अघि बढाइएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताए ।
मुद्दा दायर गरिएकालाई ऐनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ । बरामद मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत किसानलाई उचित मूल्यमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको छ ।















