Dhulikhel Eco Banner new

‘ऐना झ्यालको पुतली’ ओस्कारमा सिफारिस

4.77K
shares

काठमाडौं, ३ असोज । ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस भएको छ । अर्को वर्ष अमेरिकामा आयोजना हुने ९५ औँ संस्करणको ओस्कारका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ ओस्कारका लागि सिफारिस भएको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारीको निर्देशन रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता लगायत पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।