GBIME

एचआईडिसिएलले हकप्रद शेयर जारी गर्ने

834
shares

काठमाडौं, २० माघ । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले यसअघि वितरण नभएको संस्थापकतर्फको शेयर आइतवारदेखि बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापकतर्फको २ करोड २१ लाख ९७ हजार ३२५ कित्ता हकप्रद शेयर फागुन ८ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दा वितरण हुन नसकेको ३ करोड ३० लाख कित्ता शेयर विभिन्न चरणमा लिलामी प्रक्रियामार्फत विक्री गर्दै आएको छ । यसअघि विभिन्न चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लिखित शेयर पुनः बिक्री गर्न लागिएको हो ।

धितोपत्र दोस्रो बजारमा कम्पनीको लिलामी प्रक्रियाबाट विक्री भएको संस्थापकतर्फको शेयर अन्य संस्थापक उपसमूहमा रहने कम्पनीको भनाइ छ । कम्पनीको संस्थापकतर्फको शेयर सर्वसाधारण शेयरकै मूल्यमा खरीदविक्री गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकित्ता न्यूनतम मूल्य रू. १०० तोकिएको उल्लिखित शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । रू. ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्यरूपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।